प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या, आफै प्रहरी कार्यालय पुगेर भने सहन नसकेर हत्या गरे

Posted on: 04 Feb, 2024

माघ २१, दाङ | आइतबार बिहान दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन् ।

साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएर आएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफै प्रहरी कार्यालय पुगेका छन् ।


प्रहरीसामु पिमलालले श्रीमतीले अनावश्यक दबाब दिएका कारण हत्या गरेको दाबी गरेका छन् । आइतबार बिहान ७ बजे हत्या गरेको भन्दै ८ बजे उनी प्रहरी कार्यालय पुगेको दाङका प्रहरीले बताए ।

शनिवार राति कार्यालयबाट बिदा मागेर नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेको खुलेको छ । श्रीमतीले जागिर भएको ठाउँमा बसेर घरमा बेवास्ता गरेको भन्दै पटक पटक भनेको र सहन नसकेर हत्या गरेको दाबी उनले प्रहरीसमक्ष गरेका छन् ।

आइतबार बिहान यो विषयमा विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । प्रहरी सेवामा १० वर्ष पूरा गरेका रुन्टीगढी गाउँपालिका वडा नं ९ रोल्पा घर भएका नेपालीले रुकुम चौरजहारी विवाह गरेका थिए । उनी लामो समय बाँकेको नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी मंसिर १६ गते मात्रै सरुवा भएर दाङ आएका थिए ।

प्रहरी प्रवक्ता मल्लले अभियुक्तले घटनाबारे जानकारी दिएपछि तत्काल प्रहरी घटनास्थल पुगेको र घटनाको अनुसन्धान गरिरहेका जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!