राष्ट्रपति रनिङ शिल्ड : ग्रामीण क्षेत्रमा ‘खेलकुद क्रेज’

Posted on: 17 Jan, 2024

माघ ३, इलाम | जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँगाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ ।

सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ ।

यहाँको १० पालिकामध्ये माई र देउमाई नगरपालिका सहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ । माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए ।

सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन् । रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको उनको भनाइ छ । उनले १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने जानकारी दिए ।

ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औँ राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको समापनको अवसरमा यस वर्षको रनिङ शिल्ड आयोजना गर्न अग्रसर माङसेबुङलाई झण्डा हस्तान्तरण गरिएको थियो ।

यसपटक पनि आगामी वर्षको रनिङ शिल्ड आफ्नो पालिकामा गराउन माई नगरपालिका, रोङ र चुलाचुली गाउँपालिकाबीच प्रतिष्पर्धा चलिरहेको अध्यक्ष बाँस्तोलाले बताए ।

गाम्रीण क्षेत्रमा रनिङ शिल्ड आयोजना गर्दा २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ । आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् ।

माई नगरपालिकाले चालु आर्थिक वर्षमा २२ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक विद्यालयलाई १० हजार रुपियाँ खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिए ।

उनले सरकार परिवर्तनसँगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुने क्रम क्रमले खेल क्षेत्र ओझेल परेको समेत गुनासो गरे । नगर प्रमुख लिम्बुका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनौट चरणमा ६ लाख रुपियाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख बढी खर्च हुने छ ।

जिल्ला खेलकुद विकास समित इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा  विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखनीय भूमिका खेलेको बताए । यसपटकको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता हुँदै छ । प्रतियोगितामा छात्र/छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सलआर्टका सबै विधाका खेल हुनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!