मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ

Posted on: 14 Jan, 2024

पुस २९, विराटनगर | युवालाई मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भइ हाल विराटनगर ८ बस्दै आएका विक्रम थपलिया रहेका छन् । राति साढे १ बजे विराटनगर ११ का रोनाल कँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

विराटनगर बसपार्कनजिक खुकुरी प्रहार गरेको सूचना पाएपछि मध्यराति कँडेललाई उद्धार गरिएको दाहालले बताए । ‘खुकुरी प्रहार भइरहेको सूचना आएपछि गएको प्रहरी टोलीले कँडेललाई घाइते अवस्थामा उद्धार गरेको हो,’ उनले भने ।

प्रहरीले सँगसँगै थपलियालाई पक्राउ गरेको उनले बताए । घाइते कँडेलको अहिले विराट अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ । पक्राउ परेका थपलिया पनि सामान्य घाइते छन् । उनीविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा आइतबार अदालतमा म्याद थपका लागि लैजाने तयारी भइरहेको प्रहरीले बताए ।

घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको प्रहरीको आशंका छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्य व्यक्ति देखिए पक्राउ गरिने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!