सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

Posted on: 29 Nov, 2023

मङ्सिर १३, काठमाडौँ | सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ।

अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार पक्षले अस्पताल अगाडि प्रदर्शन जारी राखेका छन्। प्रदर्शनपछि केही समयका लागी लमजुङ अस्पताल तनावग्रस्त बनेको थियो।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार लमजुङको मर्स्याङ्दी गाउँपालिका –९ बस्ने २६ वर्षीय शोभा विक सुत्केरी व्यथा लागेपछि सोमबार लमजुङ अस्पतालमा भर्ना भएकी थिइन्।


मंगलबार दिउँसो १ बजेको समयका अपरेसन मार्फत मृत शिशुको जन्म भयो। लगतै आमाको पनि स्वास्थ्य अवस्था नाजुक देखिएपछि उनलाई चितवन रिफर गरियो।

अस्पताल स्रोतका अनुसार अपरेसनपछि सुत्केरी आमाको रगत बग्ने समस्या नरोकिएपछि मंगलबार बेलुका चितवन मेडिकल कलेज रिफर गरिएको थियो। मेडिकल कलेजमा उपचारकै क्रममा आमाको बुधबार बिहान साढे २ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक चपाइँले जानकारी दिए।

पीडित परिवारजनले अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरी आमाको मृत्यु भएको आरोप लगाएका छन्। पीडित परिवारले शिशुको शव उठाएको छैन। मृतक सुत्केरीको शव पनि ल्याएर अस्पतालमै राखिएको छ।

हाल अस्पताल व्यवस्थापन समिति, मृतकको आफन्त, अस्पतालका प्रमुख लगायतको टोली यस विषयमा वार्तामा जुटेको छ। ‘अहिले वार्ता चलिरहेको छ। अस्पतालको अवस्था भने सामान्य छ। अस्पतालका सेवाहरू पनि सञ्चालनमै छन्।’ अस्पताल स्रोतले भन्यो।

अस्पतालको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। पीडित पक्षले अस्पतालको गेटमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!