सुत्केरीको मृत्युपछि डाक्टरमाथि कुटपिट

Posted on: 29 Nov, 2023

मङ्सिर १३, बुटवल  | अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।

सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केरीपछि मंगलबार मृत्यु भएको विषयलाई लिएर विवाद बढेको थियो ।


विवादपछि मृतकका आफन्तले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मंगलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा. बस्यालमाथि हातपात भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!