सोमवारको लगातार २ भूकम्पले जाजरकोटमा थप आधा दर्जन घर भत्किए

Posted on: 06 Nov, 2023

कार्तिक २०,  जाजरकोट | शुक्रवारको भूकम्पले चर्काएका करिब आधा दर्जन घर आजको अर्को भूकम्पले भत्काएको छ ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ राउतगाउँ र वडा नम्बर ५ कालेगाउँमा रहेका उक्त घरहरू शुक्रवार रातिको भूकम्पले चर्काएको थियो । सोमवार दिउँसो साढे ४ बजेपछि आएको भूकम्पले ती घर भत्काएको छ ।


सोमवार काठमाडौं उपत्यकामा पनि भूकम्पको २ झड्का महसुस गरिएको थियो । सोमवार अपरान्ह साढे ४ बजेर ३२ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो र अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोश्रो झड्का गएको हो । 

भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । 

पश्चिम नेपालका बुटवल, सुर्खेत र दाङ लगायतका स्थानमा पनि धक्का महसुस गरिएको छ ।

गत शुक्रवार राति गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन् । भौतिक सम्पत्तिको पनि ठूलो क्षति भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!