हजुरआमाको हत्या गरी फरार तोयनाथ १९ वर्षपछि पक्राउ, साधु बनेर मन्दिरमा बसेका थिए

Posted on: 10 Oct, 2023

असोज २३, चितवन । चितवन प्रहरीले हजुरआमाको हत्या गरी फरार एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले साधुको भेष गरी लुकेर बसेका भरतपुर ७, कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार भएका कृष्ण भनिने तोयनाथ चापागाइँलाई घटनाको १९ वर्षपछि पक्राउ गरेको हो ।

भरतपुर २८, मेघौली घर भएका चापागाई नवलपुरको वर्दघाट ४ मा रहेको बाढीपीडित स्थित शिव मन्दिरबाट भेष बदलेर साधुको रुपमा बसेको अवस्थाबाट पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार २०६१ साल मंसिर १४ गते चापागाइले आफ्नो सौतेनी आमाको आमालाई हत्या गरेका थिए । उक्त समयमा २४ वर्षका चापागाई अहिले ४३ वर्षका भएका छन् ।

उनले सुतेको अवस्थामा बाँसको लौरो र ढुंगाले हानेर हजुरआमाको हत्या गरि कानमा लगाएको गहना समेत लुटेर भागेका थिए । प्रहरीले सोही समयमा हजुरआमाको हत्या गर्ने चापागाई नै हुन् भन्ने पहिचान गरे पनि उनी फरार भएकाले घटनाको न्यायिक प्रक्रिया अघि बढेको थिएन ।

डिएसपी पण्डितका अनुसार पक्राउ परेका चापागाईंको अनुसन्धानको लागि जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरिएको छ । उनले प्रारम्भिक अनुसन्धानका क्रममा सौतेनी हजुरआमाले आफू र आफ्नी आमाबारे होच्याएर बोल्ने गरेको झोँकमा मादक पदार्थ सेवन गरी हत्या गरेको स्वीकार गरेका डिएसपी पण्डितले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!