दोलखाबाट चार किलो सुनजस्तो पहेलो धातु बरामद,पाँचजना पक्राउ

Posted on: 29 Sep, 2023

असोज १२, काठमाडौँ | सुनजस्तो देखिने पहेलो धातु ४ किलोग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय दोलखाले बिहीबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा बिगु गाउँपालिका-१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् । 


उनीहरूलाई विगु गाउँपालिका -१ लामाबगरको विभिन्न स्थानबाट प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले जानकारी दिए।

बिगु गाउँपालिका-३ जामुने डेरा गरी बस्ने केशर तामाङसमेतले अवैध रूपमा तस्करी गरी ल्याएको सुन लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले केशरबहादुर तामाङको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको धातु बरामद गरेको हो।

पक्राउ परेका केशर, पेम्बा र माधवको बयानका आधारमा थप दुईजनालाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ। नुर्वु छिरीङ र सुनमाला भिमेश्वर नगरपालिका-६ स्थित शुभकामना होटलबाट पक्राउ परेका हुन्। 

उनीहरूलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट ८ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!