बिरामी भर्ना गरी उपचार गर्ने दुई मेडिकल सञ्चालक पक्राउ

Posted on: 29 Sep, 2023

असोज १२, तनहुँ | तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर बिरामी भर्ना गरी उपचार सेवा दिएका तनुहँको दमौलीका २ मेडिकल हलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले नीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’मार्फत उपचार गराएको प्रहरीको भनाइ छ ।

त्यस्तै मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिब्योटिक्सको माध्यमबाट उपचार गराएको प्रहरीको भनाइ छ ।

उनीहरु विरुद्ध हिजो तनहुँ जिल्ला अदालतबाट इलाजसम्बन्धी कसुरमा चार दिनको म्याद थप गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!