केरा खेतीबाट मनग्य आम्दानी

Posted on: 29 Sep, 2023

असोज १२, कञ्चनपुर | वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन रानाले केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् ।

तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । 

पाँच वर्षदेखि उनले केरा खेती गर्दै आएका छन् । उनले वार्षिकरुपमा २५ लाखदेखि ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आएको रकममध्ये १० देखि १६ लाखसम्म आम्दानी हुने गरेको छ ।

केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । केरा खेतीका लागि छ जनालाई वर्षभरिनै रोजगारी दिएको रानाको भनाइ छ । 

६ बिघा जग्गामा रानाले जि ९ उन्नत जातको केरा खेती गरेका छन् । ६ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको आफ्नो स्वामित्वको हो । बाँकी साढे चार बिघा जग्गा रानाले प्रतिबिघा वार्षिकरुपमा ८० हजार तिर्ने गरी भाडामा लिएका छन् । व्यापारीले बारीमा आएर केरा खरिद गरी लैजाने गरेका छन् ।

वर्षमा उनले दश ट्रक बढी केरा बिक्री गर्दै आएका छन् । केरा थोकमा प्रतिदर्जन ४५ रुपैयाँमा बिक्री हुने गरेको छ । चाड पर्वमा माग बढ्दा केरा प्रतिदर्जन ५० देखि ६० रुपैयाँसम्म पुग्ने गर्दछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!