सर्लाहीमा जलाउन लागिएको युवतीको शव लिए प्रहरीले नियन्त्रणमा, पतिसहित ३ जना पक्राउ

Posted on: 28 Sep, 2023

असोज ११, सर्लाही | सर्लाहीमा प्रहरीले जलाउन लागिएको एक विवाहित युवतीको शव नियन्त्रणमा लिएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चिताबाटै अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिप्रका सर्लाहीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पंजियारले बताए ।  

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको डिएसपी पंजियारले जानकारी दिए ।

मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । डिएसपी पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ । 

प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । उनिहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको डिएसपी पंजियारले बताए ।

परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । डिएसपी पंजियारका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेकोछ ।

थप कुरा पोस्टमार्टमपश्चात खुल्ने उनले बताए ।

आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गरेको डिएसपी पंजियारले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!