छात्राको मृत्युपछि विद्यालय संस्थापक र प्रधानाध्यापक पक्राउ

Posted on: 11 Sep, 2023

भदौ २५, रुकुम-पश्चिम | छात्रा मृत्युको घटनामा विद्यालयका संस्थापक र प्रधानाध्यापकलाई आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ की १३ वर्षीया बालिका सृष्टि गौतम गत शुक्रबार विद्यालयबाट फर्केको केहीबेरमा मृत अवस्थामा फेला परेपछि उनका आफन्तले जिल्ला प्रहरी कार्यालयमा विद्यालयका संस्थापक र प्रधानाध्यापकका विरुद्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आइतबार मृतककी दिदी सिर्जना गौतमले सृष्टि अध्ययन गर्ने विद्यालय भ्याली पब्लिक स्कुल चौरजहारीकी संस्थापक युडेन भोटिया भण्डारी र प्रधानाध्यापक पुष्पा लामिछाने शाहका विरुद्धमा आत्महत्या दुरुत्सहानको जाहेरी दिएका हुन् । बालिकाले आत्महत्या गर्नुको कारण विद्यालयमा मानसिक र शारीरिक पीडा भएको भनेर जाहेरी परेको प्रहरी निरीक्षक खड्काले बताए ।

मृतक बालिकाका माइला काका यदु गौतमले छोरीलाई शुक्रबारका दिन विद्यालयमा कुटपिट गरेको र शारीरिक एवम् मानसिक यातना दिई उनलाई आत्महत्या गर्न बाध्य पारेको बताएका छन् । ‘प्रिन्सिपलकी दिदीकी छोरी र हाम्री छोरी मिल्ने साथी थिए । उनीहरु सँगै घुम्न गएका कारण आफ्नी दिदीकी छोरीको पढाइ बिग्रिएको भनेर शुक्रबार प्रिन्सिपलले फाउन्डर समेतको उपस्थितिमा हाम्री छोरीलाई कुटपिट गरेको अरुले पनि देखेका छन्,’ उनले भने, ‘यस घटनामा विद्यालयका दुवै जनाको संलग्नता छ । हामीलाई न्याय चाहियो ।’

यो घटनापछि पीडितले दिएको जाहेरीका आधारमा विद्यालयका संस्थापक र प्रधानाध्यापकलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यलयका निमित्त प्रमुख खड्काले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!