बेनी–जोमसोम सडक पाँच दिनपछि खुल्यो

Posted on: 23 Aug, 2023

भदौ ६, म्याग्दी | मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालनमा आएको छ । 

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्तालगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा गएको शनिवारदेखि सिधा यातायात सञ्चालन हुन सकेको थिएन । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर आज बुधवार बिहान सडक खुलाइएको जानकारी दिनुभयो । ‘कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिराले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको छ’, उहाँले भन्नुभयो, ’चार वटा डोजर, मलगायत आयोजनाका इन्जिनियर र प्राविधिकहरूको टोली पाँच दिनदेखि खटेर सडक खुलाएका छौँ ।’

सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका गाडीहरू गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएपछि दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा यात्रु कष्टपूर्ण पैदलयात्रा गर्न बाध्य भएका थिए । सडक मर्मतका क्रममा गुँइठेको भिरबाट खसेको ढुङ्गाले चोट लागेर सडक विभागका डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल घाइते भएका आयोजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो । 

आयोजना प्रमुख प्रजापति, इन्जिनियर विष्णु चापागाइँ, सवारी चालक अजय स्याङ्ताङ, सुपर भाइजर इन्द्रसिंह शेरचनसहितको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन भएको थियो । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोको जोखिम रहेकाले रातको समयमा र अत्यावश्यक काम नपरि यात्रा नगर्न सूचना प्रकाशन गरेर यात्रुलाई अनुरोध गरेको बताउनुभयो । 

गएको साउन २४ गते बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सीमा क्षेत्रमा पर्ने बैसरी अँधेरीखोलामा पहिरो खसेर घाइते भएका गाडी चालक अन्नपूर्ण–७ महभीरका ४० वर्षीय लुप्सन शेरपुजाको ज्यान गएको थियो । 

बैसरीमा १२ दिन अवरुद्ध भएको सडक साउन ३१ गते खुलाइएको थियो । बैसरीको पहिरोको समस्या समाधान भए पनि जलथले–दुवारी खण्डमा पहिरोले दुःख दिन थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!