हत्या आरोपमा पक्राउ परेकी २३ वर्षीया सिर्जना पाँच वर्षअघि महिला हत्यामा पनि संलग्न !

Posted on: 14 Aug, 2023

साउन २९, काठमाडौँ | रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी समही स्थानकी २३ वर्षीया सिर्जना बुढा बोहराले पाँच वर्षअघि नै एक महिलाको हत्या गरेको खुलेको छ। 

१२ असार ०७५ सल्लेकै ४६ वर्षीया आइती बुढाको हस्तकलीकै जसरी बाहिरबाट ढोकामा ताल्चा लगाइएको अवस्थामा आफ्नै घरको कोठामा शव भेटिएको थियो। उक्त घटनामा अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको थिएन। सोही प्रकृतिको हत्या हस्तकलीको भएपछि प्रहरीले सिर्जनामाथि नै अनुसन्धान सुरु गरेको थियो। 


जसमा आइतीको हत्या पनि सिर्जनाले नै गरेको खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए। सिर्जनाले १० असार ०७५ राति करिब ११ बजेको समयमा आइतीलाई उनकै सुत्ने कोठामा काठको पिर्का, बन्चरो, बाउसो र चक्कुले टाउको र छातीमा प्रहार गरी हत्या गरेको डिएसपी भट्टराईले बताए। 

दुवै घटनाको प्रकृति एकै भएपछि उक्त घटनामा पनि सिर्जना नै संलग्न भएको हुन सक्ने आशंकामा अनुसन्धान गर्दै जाँदा उक्त घटना पनि सिर्जनाले नै घटाएको खुल्न आएको उनको भनाइ छ। 

१० असार राति नै हत्या भए पनि आइतीको शव त्यसको पर्सिपल्ट १२ असारमा फेला परेको थियो । हस्तकलीको शव पनि भोलिपल्ट फेला परेको थियो। १८ साउन बिहीबार राति हत्या भएकोमा त्यसको भोलिपल्ट १९ साउन शुक्रबार राति मात्र शव फेला परेको थियो । दुवै महिला घरमा एक्लै बस्दै आएका थिए। 

चोरीका लागि हत्या 

दुवै घटना चोरीकै लागि भएको प्रहरीले जनाएको छ। पाँच वर्षअघि भएको हत्या पनि चोरीकै लागि भएको खुल्न आएको डिएसपी भट्टराईले बताए। उनका अनुसार त्यतिवेला सिर्जनाले आइतीको हत्या गरी सुनको कानबाली चोरी गरेकी थिइन्। सिर्जनाले पाँच वर्षपछि हस्तकलीको हत्या पनि सुनकै लागि गरेको प्रहरीको बयानमा स्वीकार गरेकी छिन्। सिर्जनाले हस्तकलीको घरबाट सुनको सिक्री, चन्द्रमा, एक जोडा कानबाली, लकेट चोरी गरी खलंगाको एक सुनचाँदी पसलमा बिक्री गरेकी थिइन्। 

पाँच वर्षअघि पनि सिर्जनाले हत्या गरी चोरी गरेका सुन खलंगाकै एक सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ। त्यसवेला उक्त सुन खरिद गरेको आरोपमा प्रहरीले खलंगाको तल्लोबजारमा रहेको नारायणी सुनचाँदी पसलका सञ्चालक कृष्णबहादुर विश्वकर्मालाई पक्राउ गरेको थियो। अहिलेको हत्यापछि चोरी भएका गहना खरिद गरेको आरोपमा यसअघि नै खलंगाको माथिल्लो बजारको राप्ती चुनचाँदी पसलकी शोभाकुमारी सुनार सोनीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। 

एकल महिलालाई टार्गेट 

सिर्जनाको मान्छेसँग घुलमिल हुने राम्रो क्षमता छ। उनी जोसँग पनि मिलाएर कुरा गर्न माहिर रहेको स्थानीयको भनाइ छ। यद्यपि, उनको गाउँमा राम्रो रेकर्ड भने छैन। चोरी तथा आर्थिक लेनदेनमा उनको संलग्नता देखिन्थ्यो।  उनले एकल महिलाहरूलाई टार्गेटमा पार्ने गरेको प्रहरीले जनाएको छ। घरमा कोही नभएका, एक्लै बस्दै आएका महिलासँग सामीप्यता बढाउने, घरसम्मै आउजाउ गर्ने र त्यसपछि हत्या गरेर चोरी गर्ने गरेको प्रहरीको दाबी छ।  दुवै घटनामा सिर्जनाले सुरुमा हत्या गरिएका महिलासँग सामीप्यता बढाएको, दैनिक भेटघाट तथा काममा सरसहयोग गरेको र अन्त्यमा हत्या नै गरेर चोरी गरेको डिएसपी भट्टराईले बताए। 

पाँच  वर्षअघि नै शंकाको घेरामा थिइन् सिर्जना 

सिर्जना पाँच वर्षअघि नै प्रहरीको शंकामा थिइन्। प्रहरीले दुईपटक गरेर दुई दिन हिरासतमा समेत राखेको थियो। तर, ठोस प्रमाण नभेटिएपछि उनी उम्किएकी थिइन्। 

‘घटनाबारे अनुसन्धान गर्दै जाँदा शंकास्पद देखिएपछि त्यतिवेला दुईपटकमा गरेर दुई दिन हिरासतमा राखिएको देखिन्छ,’ डिएसपी भट्टराईले भने, ‘तर, ठोस प्रमाण नभेटिएपछि उम्केको देखियो।’ यसपटक भने ठोस प्रमाणसहित पक्राउ गरिएपछि पाँच वर्षअघिको घटना पनि खुलेको उनले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!