मापदण्ड बाहिर बनाइएका संरचनामा पोखरा महानगरले चलायो डोजर

Posted on: 10 Jul, 2023

असार २५, काठमाडौँ | पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो । 

पोखरा–९ पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र पर्ने संरचना हटाइने महानगर प्रमुख आचार्यले बताए। अवैध संरचनासहित अव्यवस्थितरुपमा राखिएका सामग्री पनि हटाइने उनको भनाइ थियो । 

उनले कास्की र तनहुँको सीमा कोत्रेसम्मै पृथ्वी राजमार्गको दायाँबायाँ अतिक्रमण गरेर बनाइएका घरटहरादेखि सबैखाले संरचना हटाइने जनाए। पोखरा–मुग्लिन सडक आयोजनामा पर्ने उक्त खण्डमा रहेका मापदण्डविपरीतका संरचना हटाउन सडक विभाग एक्लैले नसकेपछि महानगरले सहयोग गरेको प्रमुख आचार्यले बताए । 

एशियाली विकास बैंक (एडिबी) को सहयोगमा पोखरा–मुग्लिन सडक विस्तार र स्तरोन्नति गरेर चार लेनको बनाउन लागिएको हो । सडक निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनीले लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!