सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय नेपाल वायुसेवा निगमले गौतम बुद्धबाट अन्तर्राष्ट्रिय उडान भर्ने निश्चित

Posted on: 12 Jun, 2023

जेठ २९, काठमाडौँ | रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया-भैरहवा-काठमाडौं व्यावसायिक उडान गर्ने निश्चित भएको छ ।

मङ्गलवार बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी मलेसियाको राजधानी क्वालाम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं जाने भएको छ ।

०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको करिब ४० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यहाँ व्यावसायिक उडान गर्नेमा कुवेतको जजिरा एयरलायन्स मात्रै थियो ।

जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।

यसैबीच भैरहवामा व्यावसायिक उडान गर्न राष्ट्रिय ध्वजावाहक निगम पुगेको छ । यसले यात्रुको चाप वृद्धि भए नियमित उडानलाई निरन्तरता दिने भनेको छ ।

भैरहवा विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई ‘टर्न–अराउड’ उडान भनिन्छ । यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ गर्छ । त्यहाँबाट यात्रु राख्न पनि पाइँदैन । साथै चालकदलका सदस्यहरू पनि हेरफेर हुँदैनन् । न त इन्धन नै भरिन्छ ।

निगमका अध्यक्ष युवराज अधिकारीले भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सय हाराहारी यात्रु मलेसियाबाट नेपाल आउने र तीमध्ये मलेसियाका पर्यटन व्यवसायीहरूसहित ८.१० जना भैरहवामा अवतरण गर्ने र बाँकी काठमाडौं ओर्लने बताए ।

निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरू भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं आएर मलेसिया फर्किने छन् ।

निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया–भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो ।

मलेसियाबाट भैरहवाको उडान समय ४ः४५ मिनेट हाराहारी रहनेछ । भैरहवामा यात्रु ओरालेर निगमको जहाज त्यहाँबाट काठमाडौं आउने छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।

आइतबार राति ९ बजेको उडानमा जाने चालक दलको टोलीले क्वालालम्पुरबाट मङ्गलवार बिहान भैरहवाका लागि उडान गर्नेछ । नेपाली वायुसेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरूको स्वागत गर्न पर्यटन मन्त्री सदन किराँती भैरहवा आउँदैछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!