गिभिनाले मागिन् माफी– मान्छेबाटै भुल हुन्छ, नर्सिङ पेसालाई चोट पुर्‍याउनु मेरो चाहना थिएन

Posted on: 25 May, 2023

जेठ ११, काठमाडौँ | सामाजिक अभियन्ता गिभिना मगरले नर्ससँग सम्बन्धित पछिल्लो घटनामा सार्वजनिक रूपमा माफी मागेकी छन् । बुधबार साँझ उनले दुवै पक्षलाई राखेर भिडियो सन्देशमार्फत माफी मागेकी हुन् ।

योसँगै नर्सहरूको आन्दोलन टुंगिएको छ । पछिल्लो समय नर्सहरूको चरित्र हत्या गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए ।


यस्तो छ गिभिनाको भिडियो सन्देश–

जुन घटना नघट्नु थियो, त्यो घटनाले हामी सबैलाई दुःखी बनाएको छ । सबैलाई दुःखी बनाउने मेरो उद्देश्य पनि थिएन । म एउटा सामान्य घरपरिवारको  छोरी हो । यहाँ अर्चना बुनुलाई नयाँ जीवन दिन्छु भन्ने सोच लिएर आएको थिएँ । तर, त्यहाँ मैले नसोचेको घटना घट्यो, जुन घट्नु हुँदैन थियो । भरतपुर क्यान्सर अस्पतालमा उपचार हुँदै गर्दा यो घटना घटेको थियो ।

त्यहाँ म्याम र मेरो समस्या उब्जेको थियो । त्यहाँ मिसअन्डरस्ट्यान्डिङ भएको थियो । म पनि भावनामा डुबेँ । यो औषधि दिने क्रममा टाइमको फरक पर्‍यो भन्ने कुरालाई लिएर हाम्रो समस्या उत्पन्न भएको थियो । सबै कुरा मलाई जानकारी नभएको कारणले गर्दा मैले एउटा बिरामीलाई असर पर्ला भन्ने सोचेर त्यो टाइम किन फरक भयो भनेर प्रश्न गरेको थिएँ । त्यही कारणले गर्दा यो समस्या निम्तिएको थियो ।

यसको लागि सायद मान्छेबाटै भुल हुन्छ, त्यसै कारणले गर्दा  मेरो पनि भुल भएको छ । त्यही भुलले गर्दा धेरैजना जो नर्सिङ पेसामा आबद्ध हुनुभएका नर्सहरूलाई धेरै समस्या आएको छ । त्यो मेरो उद्देश्य र चाहना थिएन ।  मैले नानुलाई बचाउँछु भनेर मात्र आएको थिएँ । तर, एक्कासि थाहै नपाई यो घटना घट्न पुग्यो ।

यसबाट सम्पूर्ण जति पनि नर्सिङ पेसामा आबद्ध हुनुहुन्छ, उहाँहरूको चरित्र हत्या भएको छ । तथानाम गाली पनि गरिएको छ, जुन कुराले नर्सिङ पेसामा आबद्ध हुनुभएको धेरैजनालाई चोट पुगेको छ । यो मैले चाहेको थिइनँ । म आफैँ पनि फ्लोरेन्स नाइटिङगेलबाट प्रभावित भएर समाजसेवामा रहेको थिएँ । म आफैँलाई पनि नर्सिङ पेसामा आबद्ध हुन मन थियो । तर, मेरो आर्थिक अभावले गर्दा त्यो समय मैले पढ्न नपाएको पेसा हो । मलाई नर्सिङ पेसा असाध्यै मन पर्छ ।

तर, अहिले मेरो अन्जानमा भएको भुलले गर्दा सम्पूर्ण नर्सिङ पेसामा आबद्ध भएका नर्सहरूलाई समस्या आएको कारणले गर्दा उहाँहरूको काम छ, पेसा छ, त्यसमा प्रश्न आएको कारणले गर्दा सबैलाई दुःखी बनाएको छ ।

आगामी दिनमा यो दुःख भोग्न नपरोस् । उहाँहरूले गरिरहेको पेसामा प्रश्न नउठोस् । कहिले पनि यो समस्या सिर्जना नहोस् ।

मान्छेलाई जन्म दिने, बचाउने, भगवान्पछिको डाक्टर, नर्स हुनुहुन्छ ।  त्यसैले कसैले पनि डाक्टर, नर्सलाई नकारात्मक रूपमा नलिइदिनु होला ।  हामीलाई गाह्रो भयो भने, बिरामी पर्‍यो भने हामी जाने भनेको हस्पिटल नै हो ।  त्यसैले मेरो उद्देश्य भनेको उहाँहरूलाई नराम्रो भन्ने, नराम्रो बनाउने थिएन । तर, परिस्थितिले यो मोड लियो । जुन गल्ती म बाट भयो, आगमी दिनमा मबाट यस्तो गल्ती हुने छैन ।

फेरि पनि म सबैजनालाई दुई हात जोडेर अनुरोध गर्छु– जुन उहाँहरूको पेसामा तथानाम गालीहरू भएको छ, विभिन्न खालको प्रश्न उठेको छ, यो कसैले नगरिदिनु होला । मेरो आफ्नो भुलको कारणले उहाँहरूलाई यस्तो समस्या आएकाले म आफैँ दुःखी भएको छु । कसैलाई दुःख दिनु, कसैको मनमा चोट पुर्‍याउनु भनेको एकप्रकारको पाप नै हो । त्यसैले मबाट यस्तो खालको पाप नहोस् र तपार्इंहरूबाट पनि यस्तो खालको पाप नहोस् । मैले जतिजनाको मन दुखाएको छु, नर्सिङ पेसामा जति पनि आबद्ध हुनुहुन्छ, जसको पेसामा दाग लाग्ने काम भएको छ । यसको लागि म क्षमा माग्दै यहाँहरू सबैलाई म अनुरोध गर्छु– नर्सिङ पेसालाई सम्मान गर्नुस् ।

भरतपुर क्यान्सर अस्पताल पहिलादेखि नै सुन्दै आएको हो । असाध्यै राम्रो हस्पिटल, जहाँनेर धेरैजना बिरामी त्यहाँ गयो भने सन्चो हुन्छ भनेर आउनुहुन्छ । मेरो जति पनि फलोअर्स हुनुहुन्छ, हजुरहरूले जथाभावी अनैतिक खालको कमेन्ट नगरिदिनु होला र उहाँहरूको पनि आफ्नो सम्मान, इज्जत छ । डाक्टर, नर्स हामी बिरामीलाई चाहिन्छ । डाक्टर, नर्सलाई पनि बिरामी चाहिन्छ । त्यसैले हामी सबै एकार्काको परिपूरक हौँ । त्यसैले कसैलाई नराम्रो नभनिदिनु होला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!