डोको बुनेरै बित्यो ५० वर्ष

Posted on: 08 May, 2023

वैशाख २५, म्याग्दी | म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर(माइला) सार्की एकापसमा परिचित हुनुहुन्न तर उँहाहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गर्नुभएको छ । 

उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थाल्नुभएका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयाँसँगको साथ छुटेको छैन । उहाँकोे जस्तै अवस्था छ बेनी नगरपालिका– २ ज्यामरुककोटका ७१ वर्षीय सार्कीको पनि । अहिलेसम्म डोको–डालो  बुनेरै उहाँहरूले जीवन गुजारी रहनुभएको छ  ।

 बिहान उठेदेखि राति नसुतुन्जेलसम्म चोयाँसँग खेल्दै उहाँहरूको  समय बित्छ । गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ््यौलीले कुप्रिएको छ । कान कम सुने पनि २० वर्षे लक्का जवानको जस्तै फुर्तिलो ढङ्गले काम गरेको देख्दा उहाँलाई बुढ््यौलीले छोएको महसुस नहुने नाति शकबहादुर विकले बताउनुभयो । वनमा निगालोे खोजेर चोयाँ निकाल्दै जवानीका रमाइला दिन बिताइसक्नु भएका विकले डोका बिक्री गरेर कमाएको पैसाले अहिलेसम्म घर व्यवहार चलाउँदै आएको  बताउनुभयो । “छोराहरू विदेशमा छन्, अहिले दुःख गर्नुपर्ने कुनै बाध्यता त छैन तर त्यसै बस्न मनै लाग्दैन” उहाँले भन्नुभयो । अहिले  दिनमा दुई वटासम्म डोका बुन्ने गरिन्छ । एउटा डोकाको रु तीन सय ५० देखि रु छ सयसम्ममा बिक्री हुन्छ । आफूले बुनेका डोका मान्छे लगाएर दरवाङ बजारमा लगेर बिक्री गर्दै आइएको र यसबाट मासिक रु १५ हजारदेखि रु २२ हजारसम्म आम्दानी हुने विकको भनाइ थियो । 

उहाँजस्तै ज्यामरुककोटका माइलाले पनि  डोको बुनेरै मासिक रु २० हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएको र यसैबाट आफ्ना छ÷छ परिवारको पालनपोषण, शिक्षा दीक्षा र औषधोपचार गर्दै आउनुभएको छ ।  बुढ्यौलीले छोए पनि डोको बुन्न माइलाको जोश र जाँगर जवानी अवस्थाको जस्तै देखिन्छ । बिहानदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उहाँलाई पत्तै हुँदैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर हिसाब गर्दा ७० पो काट्न लागेछु” माइलाले भन्नुभयो ।

माइलाको वास्तविक नाम गजबहादुर  हो तर उहाँलाई सबैले माइला नै भन्ने गर्दछन् । उहाँको हातको सीप नै घरमै बसिबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ । 

अति विपन्न परिवारका माइलाको परिवारको जीविका अहिले यसैबाट चलेको छ । पहिले–पहिले डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गरेकामा अहिले  उहाँकै घरमै  ग्राहक दिनहुँ आउने गरेका छन् ।  माइलाले आफ्नै कमाईबाट छोरा छोरीलाई पढाउनाका साथै विवाहसमेत गराइसक्नु भएको छ । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा उहाँले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गर्नुभएको छ  । 

दिनमा तीन वटादेखि पाँच वटासम्म डोको बुन्न सकिने र यसबाट मासिक २० हजार जति आम्दानी हुने माइलाले बताउनुभयो । उउटा डोको रु २५० देखि रु ३५० सम्ममा बिक्री हुने हुन्छ । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन भन्ने गतिलो उदाहरण माइला सार्कीले प्रस्तुत गर्नुभएकोे स्थानीय समाजसेवी झकबहादुर थापाले बताउनुभयो ।

“डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको छ । पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउने?” माइलाले भन्नुभयो, “आफूले  बुनेको डोको बलियो र धेरै समयसम्म टिक्ने भएकाले टाढाटाढाबाट ग्राहक आउने गरेका छन् ।”

विक र सार्की मात्रै होइन, ५०औँ वसन्त पार गरेका अधिकांश गाउँका पाका व्यक्ति अहिले पनि डोको,भकारी,नाम्लोजस्ता सामग्रीहरु वनाउने गर्दछन् । कृषि पेसाप्रति घट्दो आकर्षण र आयातित सामाग्रीहरुको बढ्दो प्रयोगले पाका उमेरका व्यक्तिको रैथाने सीपले भने बजार पाउन हम्मेहम्मे पर्ने गरेको उहाँहरुको गुनासो थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!