साक्षरता कक्षाले महिलामा परिवर्तन

Posted on: 26 Sep, 2016

 असोज १०, बैतडी । जिल्लामा सञ्चालित साक्षरता कक्षाले यहाँका महिलामा धेरै परिवर्तन आएको छ । 

बैतडीका सात गाविस र पाटन नगरपालिकाका तीनवटा वडामा व्यावसायिक साक्षरता कक्षा सञ्चालनमा आएपछि महिलाले आफूहरुमा परिवर्तन आएको महशुस गरेका हुन् । 

डिप्रोक्स नेपालले आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउन र सामान्य हरहिसाब गर्नका लागि सहज बनाउने उद्देश्यले व्यावसायिक साक्षरता कक्षा सञ्चालन गरेपछि आफूहरुले सामान्य हिसाब, पोषण शिक्षा, जीवनोपयोगी सीपका बारेमा थाहा भएको वासुलिङ्गका चन्द्रा पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो – “साक्षरता कक्षा सञ्चालनपछि धेरै कुरा सिकेका छौँ ।” 

ग्रामीण क्षेत्रका महिलाको सशक्तीकरणमा सहयोग पु¥याउनका लागि सो कक्षा सञ्चालन गरिएको डिप्रोक्सका कार्यक्रम अधिकृत लालबहादुर आलेमगरले जानकारी दिनुभयो । जिल्लाका देहीमाण्डौँ, गुरुखोला, वासुलिङ्ग, कटौजपानी, सिद्धपुर, सिद्धेश्वर र गाँजरी गाविसमा सो कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । यस्तै पाटन नगरपालिकाको भूमेश्वर, सरकार र सिलङ्गामा पनि कक्षा सञ्चालन भइरहेको छ । 

व्यावसायिक साक्षरता कक्षामा २५ देखि २७ जनाको सहभागिता रहने त्यसमा ९० प्रतिशत महिलाको सहभागिता रहेको कार्यक्रम अधिकृत आलेमगरले बताउनुभयो । व्यावसायिक साक्षरता कक्षामा साक्षरता र हिसाब, पोषण शिक्षा, जीवनोपयोगी सीप, उद्यमशीलता सीप र वित्तमा पहुँचका बारेमा पढाइने वरिष्ठ प्रशिक्षक दीपेन्द्रबहादुर मडैले जानकारी दिनुभयो । 

अठचालिस हप्तासम्म सञ्चालन हुने कक्षामा महिलालाई आधारभूत सीप सिकाउने गरेको उहाँले बताउनुभयो । व्यावसायिक साक्षरता कक्षाबाट एक हजार बढी महिला लाभान्वित भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!