दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा

Posted on: 18 Apr, 2023

वैशाख ५, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । 

‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट¬ नेपाल’ले आज थहिँटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य शर्त रहेको बताउनुभयो । “स्वास्थ्य राम्रो नभइ राम्रो शिक्षा प्राप्त गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “राम्रो स्वास्थ्य प्राप्त गर्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुनेछ ।” सामुदायिक दिवा खाजा कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने उहाँको भनाइ थियो । 


उहाँले दिवा खाजा विस्तार गर्ने योजनामा चीन सरकारले पु¥याएको योगदानले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिमा महत्वपूर्ण सहयोग भएको बताउनुभयो । सरकारले कर्णाली प्रदेशबाट सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको थियो । सरकारले विगत तीन वर्षदेखि पूर्वप्राथमिकदेखि ३ कक्षासम्म र चालु आवदेखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिदिन प्रतिविद्यार्थी रु १५ का दरले विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम गरिरहेको छ ।  नेपालको सूचना प्रविधिको क्षेत्रमा चीनले ठूलो योगदान दिएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको पहुँच र गुणस्तर बढाउने कार्यक्रमा चीनले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । चीनले नेपाललाई जुनसुकै अप्ठ्यारो अवस्थामा सहयोग गर्दै आएको उहाँको भनाइ थियो । 

नेपालका लागि चीनका राजदूत चेन सोङले कोरोना महामारी तथा विभिन्न प्रकोपमा चीनले नेपाललाई सहयोग गर्दै आएको बताउनुभयो । 

काठमाडौँ महानगर पालिकाका प्रवक्ता नवीन मानन्धरले सो संस्थाले कामपाका विभिन्न सामुदायिक विद्यालयमा झोला, सरसफाइ सामग्री र न्यायो कपडा वितरण गर्दै आएको बताउनुभयो । कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले उपलब्ध गराउँदै आएको रकममा कामपाले प्रतिविद्यार्थी रु १० थप गरी चालु वर्षदेखि कक्षा आठसम्म खाजा खुवाउने कार्यक्रम सुरु गरेको बताउनुभयो । 

विकासोन्मुख देशमा गरिब पृष्ठभूमिका प्राथमिकस्तरका बालबालिकाले सामना गर्ने भोकमरीको समस्यालाई सम्बोधन गर्ने लक्ष्यका साथ फाउण्डेसनले एक वर्षदेखि विभिन्न सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा सहयोग गर्दै आएको छ । 

सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी, पोषण, सीप तथा सामुदायिक विकासमा सहयोग गर्दै आएको छ । काठमाडौँ महानगरभित्रका १० र सामुदायिक विद्यालयमा फाउण्डेसनको सहयोगमा दिवा खाजा  कार्यक्रम लागू भएको छ । यी विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।  ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पोषणयुक्त खाजाका साथै एक सय ५० मिलिलिटर दूध पाउँदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!