सञ्चालनको एक वर्षपछि चलायमान हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

Posted on: 16 Apr, 2023

बैशाख ३, भैरहवा | औपचारिक उद्घाटन भएको ठिक एक वर्षपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुने संकेत देखिएको छ । अघिल्लो वर्षको जेठ २ गते उद्घाटन गरिएको उक्त विमानस्थलबाट विभिन्न चार्टड उडान भए पनि हालसम्म विदेशमा नियमित उडान हुन सकिरहेको छैन ।

यसैबीच, नेपाल वायुसेवा निगमले आगामी जेठ दोस्रो सातादेखि यो विमानस्थलबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पूर उडान गर्ने निश्चित भएको छ । यो विमानस्थलबाट नयाँ दिल्ली र क्वालालम्पूर उडान भएपछि चहलपहल बढ्ने अपेक्षा गरिएको हो ।

भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पूर नियमित उडानको तयारी गर्न कार्यदल गठन गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । जेठको दोस्रो सातादेखि कम्तीमा दुई गन्तव्यमा उडान गर्न सकिने प्रवक्ता पौडेलको भनाइ छ ।

उक्त विमानस्थलबाट उडान अनुमति, जनशक्ति, प्राविधिक तयारी, बजारीकरण लगायत काममा तीव्रता दिन वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको छ ।

उडान अनुमतिका लागि मलेसिया र भारत एवं हवाई मार्गमा पर्ने सम्बन्धित देशमा समन्वयको कार्य अगाडि बढाइसकिएको र अनुमति प्राप्त हुनासाथ टिकट बुकिङ खुला गरिने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!