बेपत्ता युवक मृत फेला

Posted on: 23 Sep, 2016

असोज ७, बैतडी । बैतडी र दार्चुलाको सिमा भएर बग्ने चौलानी नदीबाट बगेर बेपत्ता भएका २० वर्षीय युवक गोकुल भट्ट मृत फेला परेका छन् । 

बेपत्ता युवकलाई खोजी गर्र्दै जाँदा आज बिहान ७ बजे प्रहरीले सित्तड– ४ पन्ज्युनयाँ नजिकै चौलानी नदीको बीच भागमा मृत अवस्थामा फेला परेको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । 

युवक नदीको बीच भागको भङ्गालोमा फेला परेको भए पनि नदीको बहाव बढी भएकाले शव निकाल्न कठिनाइ भएकोे उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो, “दुबैतिरबाट नदी बगिरहेको छ नदीको बीच भङ्गालोमा शव छ ” 

बैतडी देउलेक– ६ रिखाली घर भएका भट्ट बिहीबार साँझ नुहाउने क्रममा दार्चुलाको गोकुलेश्वर– ६ भट्टेगाड नजिकै चौलानी नदीबाट बेपत्ता भएका थिए । 

गोकुलेश्वर उमाविमा कक्षा १२ मा अध्ययनरत युवक दार्चुला गोकुलेश्वर– ५ मा भिनाजुको घरमा बस्दै आइरहेका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!