पोखराका मेयरलाई वडाध्यक्षको प्रश्न– ‘तपाईँमा मानवीयता छ कि नाइँ ?’

Posted on: 06 Mar, 2023

फागुन २२, काठमाडौं | पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई वडा नं. ४ का वडाध्यक्षले मानवीयताको प्रश्न उठाउँदै स्टाटस लेखेका छन् ।

वडाध्यक्ष देवकृष्ण पराजुलीले मेयर आचार्यलाई धनराज आचार्य ज्यू हजुरमा मानवीयता छ कि छैन ? भनेर प्रश्न गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका हुन् ।

‘मेयरको मनखुशी आफूले चाहे बालुवामा पानी हाल्न तयार महानगरको नगर सभा सदस्यको दुःखद निधन हुँदा मुखले ठिक्क मात्र ? हिजो हामीले नै झन्डा बोकेर आज सत्तामा पुर्‍याएको वरदानको बदला अभिशाप बन्न पुग्यो,’ वडाध्यक्ष पराजुलीले स्टाटसमा आएका प्रश्नहरूलाई जवाफ दिँदै लेखेका छन् ।

वडाध्यक्ष पराजुलीले नेपाल प्रेससँग कुरा गर्दै मेयर धनराज आचार्यले पपुलारीटीका कामहरूमा केन्द्रित रहेकाले स्टाटस लेखेको बताए ।

‘हाम्रा वडा सदस्य बितेका बेला नै विशेष नगर सभा पनि बस्यो । मैले पनि मेयरसाबलाई भनेँ । काजकिरिया खर्च आवश्यक छ । उहाँको घरको आर्थिक अवस्था अत्यन्त दयनीय छ । मैले यो कुरा भन्दा ‘ए गर्न पर्छ र ?’ भनेजस्तो गर्नुभयो । आफै शोक सभामा सहभागी हुनुभएको, बुझ्नुभएको मान्छे राजनीतिक हिसाबले हेर्नुभयो कि जस्तो मलाई लाग्छ । समग्र महानगरको अभिभावकको भूमिका भएन भन्ने मलाई लागेको हो । त्यही विषयमा मैले स्टाटस लेखेको हुँ,’ वडाध्यक्ष पराजुलीले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!