प्रत्यक्ष निर्वाचन लड्ने यो अन्तिम पटक हो: मन्त्री भुसाल

Posted on: 29 Oct, 2022

कात्तिक १२, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो नै अन्तिम पटक भएको बताउनुभएको छ । 

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनु भएकी मन्त्री भुसालले अर्को चुनावमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गर्नु भएको हो । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अर्को चुनाव आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले चुनाव नलडने अवस्था आउने स्पष्ट पार्नुभयो ।

उहाँले त्यसबेला आफूले समानुपातिकतर्फको चुनावमा जान सक्ने वा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवाहरुलाई प्रत्यक्षतर्फको चुनावमा लडने तयारी गर्न पनि आग्रह गर्नुभयो ।

मन्त्री भुसालले भन्नुभयो, १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगे । अव अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरु कुनै कारणले होइन् |

पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । अब मलाई अर्को चोटि उठ्ने रहर छैन । यो अन्तिम चोटि हो प्रत्यक्षमा ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!