एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ

Posted on: 03 Jan, 2022

पुस १९, दमक । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाको नवाँै जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गर्नुभयो । 

उहाँले एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह, गुटका रुपमा मात्र सीमित भएकाले पनि समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आएको छ, जनताले चिनिसकेका छन्, कुन असली कम्युनिष्ट हो भनेर ।”

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्कमत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । करिब एक सय ५० पत्रकार तथा सञ्चारकर्मी सहभागी रहेको अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!