मेरो पहिलो काम, पाँच वर्षभित्र खरको छाना हटाउँछु - चौधरी

Posted on: 30 Nov, 2017

                                                                                                                                                                                                                                        मेटमणि चौधरी 

                                                                                                                                                                                                  बाम गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार 

      यही मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिक आइरहँदा उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं. १ मा बाम गठबन्धन तर्फका उम्मेदवार मेटमणि चौधरीले निर्वाचन जितेको पाँच वर्षभित्र सम्पन्न गर्न सकिने धेरै महत्वपूर्ण र महत्वकांक्षी योजनाहरु सार्वजनिक गर्नुभएको छ । घरमा रहेको खरको छानो विस्थापित गरी टिनको छानो हाल्नेदेखि सुत्केरी आमा र बच्चाको  पोषणको लागि भत्ता दिनेसम्मका योजनाहरु अघि सार्नुभएको छ । यसै सन्दर्भमा निर्वाचनलाई लक्षित गरी दाङ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार मेटमणि चौधरीसंग साझासबाल दाङ जिल्ला सम्पादक सन्तोषकुमार गुप्ताले गर्नुभएको कुराकानी सारसंक्षेप -सम्पादक


सर्वप्रथम यहाँलाई साझासबालकाे कुराकानीमा स्वागत छ ।

धन्यबाद ।

यहाँले चुनावी प्रचारप्रसार कसरी अघि बढाउनुभएको छ ? 

बुलेट रेलको स्पिड जस्तो हुन्छ, त्यसरी तीब्र गतिमा चुनावी प्रचार अघि बढेको छ । मतदाताको  घरदैलोमा पुगिरहेका छौं । संयुक्त वाम गठबन्धनको तर्फबाट टोल वस्तीमा आयोजना गरिएका जनभेलाहरुमा पुगेर मतदाताहरुको माझमा आफ्ना एजेण्डाहरु, वाम गठबन्धनको आवश्यकता र चुनाव जितेपछि सम्पादन गर्ने कामका बारेमा बताउने काम भइरहेको छ । 

 चुनाव प्रचार लिएर गाउँ पुगिरहेको बताउनुभयो निर्वाचनले जनतालाई कतिको छोएको छ नी ?

निर्वाचनलाई लिएर मतदाताहरु उत्साहित भएको पाएको छु । अहिलेसम्म जिताएर पठाएका उम्मेदवारहरुले जनताको पक्षमा देखिने गरी, महसुस हुनेगरी काम नगरेको स्वयं मतदाताहरुले अनुभव गर्नुभएको छ । मतदाताहरुले काम गर्न सक्ने योग्य, क्षमतावान उम्मेदवार खोजी गरिरहेको मैले पाएको छु । हामी जहाँ पुग्छौं त्यहाँका मतदाताहरुको अपार माया लिएर फर्किएका छौं । मंसिर २१ गतेको निर्वाचनमा मतदान गरी विजयोत्सवमा सहभागी हुन मतदाताहरु आतुर रहेको मैले पाएको छु । 

 तपाई चाहिँ कत्तिको उत्साहित हुनुहुन्छ ? 

म उत्साहित नहुने कुनै भएन । जनताको जस्तै म उम्मेदवारमा पनि उत्तिकै उत्साह छाएको छ । जनताको सेवक भएर काम गर्ने अवसर पाउनेमा ढुक्क छु । राजनीतिमा लागेको लामो समय भयो । अहिले जनताको मतको आधारमा परीक्षणको घडीमा उभिएको छु । राजनीतिमा लाग्ने जो कोही पनि जनतामाझ पुगेर अनुमोदित हुन चाहन्छ । अहिले नै हामी कांग्रेस भन्दा २२ हजार भोटले अघि छौं । चुनाव जित्ने, निश्चित, कन्फिडेन्ट भएपछि उत्साहित नहुने कुरै भएन । 

 गाउँ पस्दा मतदाताहरुले के भन्नुहुन्छ ? 

गाउँमा मलाई के भन्दैछन् । भने तपाई फ्रेस क्याण्डिडेट । तपाई राजनीतिमा लामो समयदेखि लागेको व्यक्तित्व । यति मात्र होइन कमिटी, पार्टीको महत्वपूर्ण कमिटीमा बसेर कुशलतापूर्वक काम गरेको भनेर खुशी व्यक्त गर्दै अविर लगाउन पाउँ भन्ने शुभकामना व्यक्ति गरिरहनुभएको छ । यसका साथै निर्वाचन जितेर गाउँका समस्याहरु समाधान गर्नेतर्फ ध्यान दिनेपर्ने भन्दै विकास निर्माणका कुराहरुमा ध्यानाकर्षण गराइरहनुभएको छ । जितेपछि नबिर्सनुहोला भनेर आफ्ना कुराहरु राख्नुभएको छ । विजयको आशिर्वाद दिइरहनुभएको छ । 

तपाईप्रति जनतामा यतिधेरै विश्वास कसरी जाग्यो ? 

नाइँ यस्तो हो म फुत्त एक दिनमै राजनीतिमा आएको मान्छे होइन् । मैले अहिले ४२ वर्ष पार गर्दैछु र मेरो राजनीतिक जीवन कम्युनिष्ट पार्टीमा २९ वर्ष बिताइसकेको रहेछु । बाजेले पनि कम्युनिष्ट पार्टीकै राजनीति गर्नुभयो । बुबाले पनि कम्युनिष्ट पार्टीकै राजनीति गर्नुभयो । म पनि त्यही कम्युनिष्ट पार्टीकै राजनीतिमा छु । यो कुरालाई जनताले नजिकबाट हेर्नेरहेछन् । त्यसपछि पटक–पटक जेल गएँ । पुलिसको कुटाई पनि खाएँ धेरै राजनीतिक आन्दोलन भए । त्यसमा मेरो भूमिका देखे । मेरा विचारहरु सुने । यो मान्छेले केही गर्छ भन्ने विश्वास जनतामा जागेको छ र निष्कर्षमा पुगेका छन् । 

वाम गठबन्धनले जनमानसमा कस्तो प्रभाव परेको छ ? 

तपाईले यत्ति बुझनुस् । नेताहरुको उम्मेदवारी खोसिएको होला, त्यसकारण्चाले नेताहरु अलि–अखि दुःखी भएका होलान् । तर जनता यति सिरियस रहेछन् । कम्युनिष्ट पार्टी मिलेकोमा कि त माथिका नेता खुशी होलान् कि त जनता खुशी छन् । जनता नेताभन्दा हजार गुणा खुशी छन् । त्यस कारणले माथिका नेता, कार्यकर्ता भन्दा त्यो भन्दा धेरै खुशी ग्रासलेवलका कमैया, कम्लरी जो साँचो अर्थमा कम्युनिष्ट पार्टीको शासन व्यवस्था देख्न चाहन्छन् । हेर्न चाहन्छ, स्थापित गर्न चाहन्छ । यो वर्ग धेरै खुशी छ । जनतामा निकै उत्साह छ । यिनीहरु अब चुनाव जित्ने भए । हामीलाई सुःख र समृद्धि पनि दिने भए, विकास पनि गर्ने भनेर एकदमै भित्रैदेखि विश्वास पलाएको मैले पाएको छु । 

हजुरको चुनावी एजेण्डा के छन् ? ती सबै पुरा गर्न सक्नु हुन्छ त ? 

मेरो पहिलो काम, म पाँच वर्षभित्र दाङ निर्वाचन क्षेत्र नं. १ भित्र कुनै पनि घरमा खरको छाना तपाई देख्नु हुनेछैन । यो मेरो आफ्नो पीडा पनि हो । साउन, भदौ महिना आयो भने पानी चुहिने, बैशाख आयो भने घरमा आगो लाग्ने । झन गरिव माथि झन गरिवी थप्ने । जुन अहिलेसम्मको नेपाली समाजको कल्चर गरिवहरु दुःख पाउदैछन् । त्योबाट म मक्ति दिलाउँछु । मेरो पहिलो कामको शुरुबात यहीबाट गर्छु । त्यसपछि अर्को समस्या भनेको गरिव घरमा छोरी, बुहारी सुत्केरी हुँदा निकै समस्याग्रस्त हुन्छन् । पौष्टिक आहार खान नपाएर रोगी हुन्छन्, कुपोषित हुन्छन् । तिनका बच्चालाई खुवाउने प्रशस्त मात्रामा दूध आउँदैन । दूध नआएपछि बच्चाले दूध खान पाउँदैन । दूध खान नपाउँदा बच्चा पनि कुपोषित हुन्छ, समाजै रोगी हुन्छ । त्यसबाट मुक्ति दिलाउन प्रत्येक सुत्केरीलाई अहिले हजार पाउँदैछन्, हाम्रो गठबन्धनको सरकारले थप पाँच हजार बनाउँदैछ । म त्यसमा दश हजार रुपैयाँ थपेर कम्तिमा १५÷१६ हजार रुपैयाँ प्राप्त गर्ने र महिना दिनसम्म प्रशस्त मात्रामा फलफूलहरु, माछा मासुहरु, पौष्टिक आहारहरु खान पाउने, त्यो खालका व्यवस्थान, प्रावधानहरुको व्यवस्था गर्नेछु र समाजलाई एउटा स्वस्थ समाज, तन्दुरुस्त समाज, मान्छेहरु पनि हेर्दा खेरी खाइलाग्दा, लोभलाग्दा मानिसहरुको समाज निर्माण गर्नेछु अनि गुठी, विश्वविद्यालयको जमिन छ अनि मठ मन्दिरको जमिन छ । यी सबै खालका मन्दिरको नाममा किसानहरुमाथि शोषण गर्ने, विश्वविद्यालयको नाममा किसानमाथि शोषण गर्ने, देवीदेवताको नाममा किसानमाथि शोषण गर्ने जुन नेपाली समाजको कल्चर बनेको छ । यसबाट समेत म सबै किसानलाई आफ्नो श्रमको आफै मूल्य प्राप्त हुनेगरी, सबै जमिनलाई रैकरमा परिणत हुनेगरी काम गर्ने मेरो यो तेस्रो संकल्प छ । म शुरुवात पनि गर्छु । अनि यो क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्ने अर्को संकल्प हो । जस्तो साविक गोबरडिहालाई आईएस्सीएजी, विएस्सीएजी अनि एमएस्सीएजीसम्मको अध्ययन अध्यापन गराउने । त्यसको लागि म शिक्षा क्षेत्रमा कामको शुरुबात गर्नेछु । गढवा बेल्टलाई चार पाँचवटा विषयमा प्राविधिक शिक्षालय, साना, साना मसिना, जो आठ कक्षा पास गरेको छैनन् । उनलाई समेत प्राविधिक शिक्षालयमार्फत रोजगारमा संलग्न गराउने मेरो संकल्प छ । पश्चिम जहाँ राजपुर छ त्यहाँ प्लस टु सञ्चालन गर्ने । विए लेवलको पढाइ सञ्चालन गर्न ग्यारेन्टी गर्ने । अनि यता अमेलिया क्षेत्रमा थोरै प्राविधिक शिक्षालय र विए लेवलको कलेज चलाउने । त्यसपछि लमहीलाई बहुमुखी जुन विषयको धेरै पढाई भएको छैन । एमए लेवलको पढाइ शुरु भएको छ तर बहुमुखी हुन सकेको छैन । आवश्यकताको आधारमा थप फ्याकेल्टीहरु थप गर्ने र लालमटिया क्षेत्रलाई पनि यही तरीकाको शैक्षिब मोडेलको विकास गर्ने । त्यो मेरो आफ्नो अभिप्राय छ । निकै महत्वपूर्ण कुरा राप्ती नदी अहिलेसम्म अभिशाप भएको छ जनताका लागि राप्ती नदी वरदान सावित गर्नेछु । राप्ती नदीलाई साउन, भदौ महिनाको पानी धान्न सक्ने राप्ती नदीको पेट गराएर, त्यसलाई फराकिलो बनाएर दुबै साइडमा पक्की तटबन्ध, नदी साँघुरो भएपछि एक किलो, दुई किलोमिटरको फरकमा पुलहरुको निर्माण गर्ने, दुवै साइडमा पक्की नाला निकाल्ने र दक्षिणमा राजपुरसम्म पु¥याउने, उत्तरमा अमेलियासम्म पु¥याउने, अझ साइड–साइडमा सुन्दर बगैंचा निर्माण गर्ने । त्यो सुन्दर बगैंचालाई अवलोकन गर्नको लागि टाढा टाढाबाट आउने वातावरण बनाउने र त्यो ठाउँलाई टुरिस्ट एरियाको रुपमा विकास गर्ने र साइड–साइडमा ठूला शहरहरुको विकास गर्ने लक्ष छ । राप्ती नदीमा ¥याफ्टिङको कुरा छ, बोटिङको कुरा छ । भालुवाङदेखि स्टेशन शुरु गराएर ठाउँ–ठाउँमा ओर्लदै आनन्द गर्दै सिक्टासम्म पुग्ने र राप्ती नदीलाई संसारभरिका बोटिङप्रेमीहरु छन् ती सबैलाई आउन मिल्ने, आनन्द महसुस गर्न मिल्ने खुशी हुनेगरी ¥याफ्टिङ र बोटिङको व्यवस्थापन गर्नेछु । पाँच वर्षभित्र यी सबै काम गर्नेछु । राप्ती नदीको तटबन्धको कुरा चुनाव जित्ने बित्तिकै यसलाई तटबन्ध गरिनेछ । दास्रो वर्षमा बजेट पार्ने कुरा हुन्छ, तेस्रो वर्षदेखि कामको शुरुवात गर्नेछु र दश वर्षभित्र सिक्टासम्मको दुवै साइडमा तटबन्ध निकाल्ने कुरा, पक्की नहर निकाल्ने कुरा र सबै किसानहरुको जग्गालाई सिञ्चित गर्ने र उत्पादन बढाउने कुरा त्यो उत्पादनले जनताको जीवनमा समृद्धि ल्याउने कुरासमेत मेरो आफ्नो महत्वपूर्ण संकल्प छ । क

 निकै मत्वाकांक्षी योजनाहरु अघि सार्नुभएको छ । यी योजनालाई कार्यान्वयन गर्ने आधार चाहिँ के हो ? 

मान्छेमा इच्छाशीक्त हुनुपर्छ सबै काम पूरा हुन्छन् । सुत्केरीहरुको लागि म एक करोड बजेट सुत्केरी राहत कोषमा शुरुमा बजेटको व्यवस्था गर्ने छु । त्यसको लागि दातृ निकाय छन् । नेपाल सरकारको थुप्रै सहयोगी निकायहरु छन् । त्यसपछि यी दुबैबाट भएन भने मेरो आफ्नो सांसद विकास कोषको रकमबाट बजेट व्यवस्था गर्छु । टिनको छानो के गाह्रो छ । एक करोड रुपैयाँ कोषको व्यवस्था गरियो भने शुरु हुन्छ । अर्को महत्वपूर्ण कुरा सुनाउन चाहन्छु । मेरो आफ्नो क्षमताले राप्ती नदीको विषयमा दातृ निकायहरुबाट म आफैले, नेपाल सरकारको तर्फबाट गर्ने कुरा त भइहाल्यो तर प्लस थप कार्यहरु मेरो योग्यता, क्षमता, हैसियत, समन्वय क्षमतको कारणले दातृ निकायहरुसंग सहयोग मागेर राप्ती नदीमा तटबन्ध गर्ने कुरा, दुबै साइडमा कुला निकाल्ने कुरा, त्यस वरिपरी सुन्दर बगैंचाहरु निर्माण गर्ने कुरामा यहीका जनतालाई सहयोगी गराएर यी सबै काम सम्पन्न हुन्छ । 

अन्त्यमा हामी सोध्न छुटाएका र हजुरले भन्न खोजेको केही छ कि ?

म काम गर्न सक्छु । म यो देशको मुहार फेर्न सक्छु । यो निर्वाचन क्षेत्र नं. १ भित्रका जनताको जीवनमा समृद्धि, सुख, हाँसो पनि ल्याउन सक्छु । सबै युवाहरुलाई रोजगारमा सहभागी गराउन सक्छु, र सबैलाई सम्वोधन गर्न सक्ने व्यक्ति भएको कारणले सबैले एक पटक सूर्य चिन्हमा भोट हालेर मलाई विजय गराउनुभयो भने जनताले नसोचेका काम म बाट सम्पन्न हुन्छ । त्यसैले आशा विश्वास दिलाउन चाहन्छु । तपाईहरुले भोट हालेका सबैलाई गौरव गर्ने खुशी लाग्ने खालका कामहरु सम्पन्न गर्नेछु । यस मानेमा अन्त्यमा भन्न चाहन्छु, सूर्य चिन्हमा भोट हालेर मलाई विजय गराउने र यो विजयको महाअभियानमा सरिक हुन सबैलाई आग्रह गर्छु ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!