दाङ बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्न माग

Posted on: 29 Nov, 2017

मंसिर १३, काठमाडौं । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरिएको छ ।

बुधबार नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले एक विज्ञप्ति जारी गर्दै चौधरीलाई शहीद घोषणा गर्न माग गरेको हो । समितिका संयोजक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका बेला शान्ति सुरक्षाका लागि खटिएका चौधरीको निधन राष्ट्रप्रति समर्पित भएको हुँदा उनलाई राज्यले तत्काल शहीद घोषणा गर्नका लागि माग गर्दछौं ।’

कांग्रेसले घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न समेत सरकार समक्ष माग गरेको छ । बम विष्फोटमा गम्भीर घाइते भएका सुरक्षाकर्मी तुलसीपुर उपमहानगरपालिका १८ का चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान साढे २ बजे मृत्यु भएको थियो ।

नेपाली कांग्रेस दाङले तुलसीपुर स्थित अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा बम विष्पोट भएको थियो । 

मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले विरेन्द्र चोकदेखि एक सय मिटर पश्चिम सडकमा करिब मंगलवार अपरान्ह चार बजे बम फयाँके लगत्तै ठूलो आवाजमा बम बिष्पोट भएको थियो ।

बम विष्पोट गराउने समुह र प्रयोग गरिएको सवारीसाधनको खोजी कार्य जारीरहेको प्रहरीले बताएको छ । विस्फोट गराउने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!