निर्वाचनका लागि दाङमा एमाले-माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए

Posted on: 31 Oct, 2017

कात्तिक १४, दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ । 

एमालेका अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ । प्रदेशसहित एमालेले छ र माओवादीले तीन क्षेत्र पाएका छन् । 

एमालेले प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चार क्षेत्र पाएको छ । यस्तै माओवादीले प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र पाएको छ । एमालेले क्षेत्र नं एकबाट प्रतिनिधिसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ । 

प्रदेशतर्फ ‘क’ मा माओवादीका इन्द्रजित थारु, ‘ख’ मा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ । 

प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ मा हीराचन्द्र केसी, प्रदेशका लागि ‘क’ मा माओवादी उम्मेदवार र ‘ख’ मा एमालेका उत्तर ओली उम्मेदवार बन्नुहुने बताइएको छ । 

प्रदेशसभाको लागि क्षेत्र नं २ मा माओवादीका कृष्णबहादुर महरा उम्मेदवार बन्नुभएको छ भने प्रदेशतर्फ २ को ‘क’मा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल र ‘ख’मा एमालेकै अमर डाँगी उम्मेदवार बन्नुहुने भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!