मुलुकलाई समाधान दिन निर्वाचन सारिएको हो: महरा

Posted on: 16 Jun, 2017

असार २, दाङ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताउनुभएको छ । 

नेकपा(माओवादी केन्द्र)ले घोराही– १३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्नेमा जोड दिनुभयो । 

स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै माओवादी केन्द्रका नेता महराले कार्यसूचीका आधारमा माओवादी केन्द्रले विजय हासिल गरिसकेको जिकिर गर्नुभयो । उहाँले मधेस केन्द्रित दललाई पनि सहमतिमा लिएर मुलुकलाई समाधान दिनका लागि २ नं प्रदेशको निर्वाचन सारिएको स्पष्ट गर्नुभयो । “निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने यसलाई हामीले त्यति ठूलो बनाउनु हुँदैन”, उहाँले भन्नुभयो, “सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिनेछ ।” 

परराष्ट्रमन्त्री महराले नेपालले छिमेकी मुलुकबीच सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!