बैतडीमा चार सय ६४ जनप्रतिनिधि निर्वाचित हुने

Posted on: 11 Jun, 2017

जेठ २८, बैतडी  । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छ । 

बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेको छ । तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

यसैगरी पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा ५५/५५ जना तथा मेलौली नगरपालिकामा ५० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । 

उहाँका अनुसार दोगडाकेदार र सुर्नया गाउँपालिकामा ४५÷४५ जना, पञ्चेश्वर र शिवनाथ गाँउपालिकामा ३५÷३५ जना, सिगास गाउँपालिकामा ५० जना र डिलाशैनी गाउँपालिकामा ४० जना जनप्रतिनिधि निर्वाचित हुने छन् । 

प्रत्येक नगरपालिका र गाउँपालिबाट एक/एकजना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष, प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तीमा दुई महिला सदस्यसहित पाँचजना सदस्य निर्वाचत हुने छन् । निर्वाचनपछि हुने गाउँसभा र नगरसभाले थप जनप्रतिनिधिलाई चुन्नुपर्ने व्यवस्था छ । अल्पसङ्ख्यक, अपाङ्गता भएका र सीमान्तकृत समुदायको प्रतिनिधित्व हुने गरी प्रत्येक गाउँसभाले दुई जना र नगरसभाले तीनजनालाई चुनिने व्यवस्था छ । 

कुल एक लाख २४ हजार ८२४ जना मतदाता रहेको बैतडीमा १२० मतदानस्थल तोकिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!