ओलीविरुद्ध नाराबाजी गर्दै नेशनल डे कन्सर्टमा हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त, प्रहरीले जिल्ला अदालतमा बुझाउँदै

Posted on: 20 Sep, 2024

असोज ४, काठमाडौँ । संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित कन्सर्टका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका बालेन शाहका समर्थकमध्ये एक जना फरार ज्यान मुद्दाका अभियुक्त रहेको खुलेको छ। प्रहरीका अनुसार तिलक खड्का नाम गरेका ती व्यक्ति बझाङको मस्टा-३ निवासी हुन् र हाल माछापोखरीमा बस्दै आएका थिए। उनी ज्यान मुद्दामा फरार अभियुक्त रहेको प्रहरीको रेकर्डमा देखिएको छ।


काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, तिलक खड्का चार महिनाअघि त्रिचन्द्र कलेजमा भएको झगडामा इँटा प्रहार गरी एक विद्यार्थीलाई घाइते बनाएको आरोपमा ज्यान मुद्दाका फरार अभियुक्त हुन्। खड्कालाई दरबारमार्गमा पक्राउ गरिएका अन्य तीन जनासँगै नियन्त्रणमा लिइएको हो।

प्रहरीले दरबारमार्ग क्षेत्रमा प्रधानमन्त्री ओलीको उपस्थितिमा भएको नेशनल डे कन्सर्टका क्रममा ‘बालेन ! बालेन !’ भन्दै नारा लगाएका चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये तीन जनालाई शुक्रबार साँझ नै छाड्ने तयारी भएपनि खड्कालाई पुरानो ज्यान मुद्दामा आवश्यक कानूनी कारबाहीका लागि अदालतमा पेश गरिने बताइएको छ।

प्रहरीले खड्का इन्द्रजात्रामा हुलदंगा गरेका कारण निगरानीमा राखेको थियो। कन्सर्टका बेला प्रधानमन्त्रीको नाम लिएर अश्लील नाराबाजी गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!