मन्त्री पुनले खुलाए २ खर्ब बजेट अर्थ मन्त्रालयमा राख्नुको कारण

Posted on: 27 Jun, 2024

असार १३,  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयले २ खर्ब रुपैयाँभन्दा बढी बजेट राख्नुको कारण खुलाएका छन् । उनले  राष्ट्रियसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयमा राखिएको २ खर्ब रुपैयाँभन्दा बढी बजेटबारे प्रस्ट्याएका हुन् ।

अर्थमन्त्री पुनले प्रदेश तथा स्थानीय तहमा जाने समपूरक रकम २ खर्ब रुपैयाँ बजेटमा नै राखिएको बताए । यस्तै ससर्त अनुदानको रकम पनि एकमुष्टरुपमा राखिएको उनले बताए  ।


‘दुई शीर्षकमा राखिएको एकमुष्ट रकम अबण्डामा राखिएको जस्तो देखियो,’ अर्थमन्त्री पुनले भने, ‘समानिकरण अनुदान सकेसम्म प्रतिबद्धता गरेबमोजिम स्थानीय तह र प्रदेशमा जाओस् भन्ने हाम्रो लक्ष्य हो ।’ यद्यपि, सङ्कलित राजश्वका आधारमा प्रदेश र स्थानीय तहमा समानिकरण रकम पठाउने भएकाले लक्ष्यबमोजिमको पठाउन नसकिएको उनले बताए ।

‘७४–७५ प्रतिशत रकम हाराहारी समानिकरण रकम पठाएका थियौं,’ पुनले भने, ‘योपछि स्थानीय तह र प्रदेशबाट गुनासो आएपछि ९३ प्रतिशतसम्म पठाएका छौँ ।’ स्थानीय तहको स्रोत समेत सुनिश्चित नहुँदा ती पालिकामा समानिकरणको रकमले ठुलो भूमिका खेल्ने अर्थमन्त्री पुनको भनाई छ ।

उनले काठमाडौँ महानगरजस्तो ठुलो आम्दानी भएको स्थानीय तहलाई पठाउने समानिकरण रकम न्यून देखिने पनि बताए । तर आफ्नै आम्दानी नभएका पालिकालाई तलब खुवाउन, शिक्षा र स्वास्थ्यमा खर्च गर्न पनि समानिकरण रकममा आधारित रहेका उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!