मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौँ | पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन्। 

बिहीबार काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले यस्तो आग्रह गरेका हुन्। उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चितसम्मको ऋण मिनाह घोषणा गर्न आग्रह गरे। 


उनले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरेका छन्। नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिब किसानलाई बाँड्न आट गर्न सुझावसमेत दिए। 

उनले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे। 

पूर्वप्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!