काठमाडौंको परिवर्तनले सातै प्रदेशका सरकारलाई धक्का दिएको छ : सांसद डा. राउत

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रातारात काठमाडौंमा हुने सत्ता परिवर्तनको प्रभाव एकसाथ सातै प्रदेशमा हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राउतले भने, ‘सिंहदरबारको परिवर्तनले सातै प्रदेशका सरकार एकैपटक गर्ल्यामगुर्लुम ढल्ने अवस्था आउँछ । जनताले यातना भोग्नुपर्ने, जनताले घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ । यसतर्फ विचार गरियोस् ।’ 

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने गरी आफ्नो पार्टीले अघि सारेको नौलो गणतन्त्रले नै अहिलेको समस्याको समाधान दिने विचार व्यक्त गरे । 

‘यो व्यवस्था पर्याप्त छैन भन्ने कुरा अहिलेको घटनाक्रमले पनि देखाएको छ । योभन्दा अगाडि जाने ठाउँ छ भनेर जनमत पार्टीले नौलो गणतन्त्र सामाजिक व्यवस्थाको प्रस्ताव गरेको छ । त्यसमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ,’ उनले भने, ‘त्यसो हुन्थ्यो भने अहिलेका प्रधानमन्त्री यता र उता दौडधुप गरिरहनुपर्ने थिएन । ढुक्कले पाँच वर्ष काम गर्न सक्नुहुन्थ्यो ।’ 

सांसद राउतले मन्त्रीहरूले कुनै काम नगरिरहेको भन्दै बरु विज्ञहरूको समूहलाई मन्त्रालय चलाउने जिम्मा दिनु उपयुक्त हुने जिकिर गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!