अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीश कारबाहीमा, दुर्गम जिल्ला मुगु सरुवा गरियो

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहितलाई रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य ‘कारबाही’ मा परेका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला न्यायाधीश आचार्यलाई कारबाही स्वरुप दुर्गम जिल्ला, मुगु सरुवा गरेका हुन्। 

मुगु जिल्ला अदालतका न्यायाधीश रमाकान्त अधिकारीलाई सिन्धुली सरुवा गरिएको न्याय परिषद् स्रोतले जानकारी दिएको छ। 


बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत माघ १८ गते चौधरीसहितलाई पक्राउ गरेको थियो। सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। 

पक्राउ परेपछि ३ जनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रथमपटक ४ दिनको म्याद थप गरेको थियो। ४ दिनको म्याद सकिएपछि सीआईबीले सोमबार उनीहरुलाई पुन: म्याद थपका लागि माघ २२ गते, सोमबार अदालतमा उपस्थित गराएको थियो। 

जिल्ला न्यायाधीश आचार्यको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो।

अदालतको आदेशानुसार चौधरी माघ २४ गते रिहा भएका थिए। यद्यपि सीआईबीले चौधरीसहित ३ जना विरुद्धको अनुसन्धान भने जारी रहेको जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!