एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित

Posted on: 06 Feb, 2024

माघ २३, धादिङ | आन्तरिक विवाद नसुल्झिएपछि नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित भएको छ ।

आज बिहान आठ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन ।

बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आज बिहान सूचना जारी गर्दै निर्धारित मिति र समयअनुसार बन्दसत्र सुरु हुन नसकेको बताएका छन् । ‘आन्तरिक तयारीको काम अझै केही बाँकी रहेको’ भन्दै उनले केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ अर्को सूचना जारी गरेर जानकारी गराउने बताएका छन् ।


नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन यही माघ १९ गते उदघाटन भएको थियो । तर बन्द सत्र सुरु हुनु अघि पार्टी अध्यक्ष केपी शर्मा ओली निकट दुई पक्षबीच नेतृत्वको विषयमा विवाद भएपछि अधिवेशन स्थलमा झडप भएको थियो । झडपमा परी एकजना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।

एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार विज्ञप्ति जारी गरी अधिवेशन स्थगित भएको भनेका थिए । लगत्तै धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन स्थगित नभएको बताएका थिए । दुई पक्षबीच विवाद बढेपछि नेताहरु अध्यक्ष ओलीसँग छलफल गर्न काठमाडौंमा आएका छन् ।

एमाले धादिङको नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारी आकांक्षी देखिएका छन् ।

त्रिपाठीको तर्फबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकांक्षी छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनीले सचिवमा आकांक्षा राखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!