भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम देखिन सुरु भयो : प्रधानमन्त्री प्रचण्ड

Posted on: 09 Dec, 2023

मङ्सिर २३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भए लगत्तै सामाजिक न्याय र सुशासनलाई लक्ष्य बनाएर काम गरिरहेको दाबी गरेका छन् । 

भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

भ्रष्टाचार नियन्त्रण उपदेश दिएजस्तो सजिलो नभएको भन्दै प्रचण्डले यसका लागि दीर्घकालीन रणनीतिक सोचको विकास गर्न आवश्यक रहेको बताए । 

भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई प्रचलित कानुन बमोजिम परिचालन गरिरहेको उनको भनाइ थियो । यसको केही सकारात्मक परिणाम समेत हासिल भएको प्रचण्डको दाबी छ । 

सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानकै कारण पछिल्लो समय आम जनतामा आशाको किरण प्रवाह भएको प्रचण्डको भनाइ छ । आगामी दिनमा भ्रष्टाचार विरुद्ध थप एकताको आवश्यकता रहेको उनले औँल्याए । 

निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गर्न लागिएको र गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी पनि उनले गराए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!