समाजमा अराजकता सिर्जना गर्ने दुर्गा प्रसाईंको प्रयास असफल भयो– प्रचण्ड

Posted on: 04 Dec, 2023

मङ्सिर १८, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समाजमा अराजकता सिर्जना गर्न खोजेको प्रयास असफल भएको बताएका छन् । अराजकता बढ्न नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

मूलधारका मिडियाका सम्पादकहरूसँग सोमवार कुरा गर्दै प्रचण्डले समाजमा अराजकता सिर्जना गर्ने प्रसाईंको प्रयास विफल भएको बताएका हुन् । 

प्रसाईंको आन्दोलनबारे प्रधानमन्त्री प्रचण्डले पहिलोपटक प्रतिक्रिया जनाएका हुन् । अहिलेको व्यवस्था परिवर्तन गरेर गरिबको ऋण मिनाहा गर्ने भन्दै प्रसाईंले मंसिर ७ देखि काठमाडौंकेन्द्रित आन्दोलन गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनभित्र कुनै समस्या नरहेको र बाँकी चार वर्षको कार्यकालसम्म कायम रहने दाबी गरे । सरकार अर्थतन्त्रका समस्या समाधान गर्न लागिपरेको उनले बताए ।

आइतवारमात्र यूएईबाट स्वदेश फर्केका प्रचण्डले आफ्नो विदेश भ्रमण सफल रहेको दाबी गरे । ‘अन्तर्राष्ट्रिय फोरमहरूमा नेपाल देखिन र सुनिन थालेको छ,’ उनले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!