१२ वर्ष अघिको भ्रष्टाचार मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

Posted on: 27 Nov, 2023

मङ्सिर ११, काठमाडौं | सर्वोच्च अदालतमा रहेका पूराना भ्रष्टाचारका मुद्दा मध्येको १२ वर्ष अघिको मुद्दामा आज पेशी चढे पनि ‘हेर्न नभ्याइने’ मै परेको छ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो।

सरकारले २०६८ साल असोज ३० मा सर्वोच्च अदालतमा दिनेशनाथ चालिसेसमेत ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पुनरावेदन निवेदन दर्ता गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता भएको थियो। जुन मुद्दा प्रायजसो हेर्न नमिल्ने र नभ्याइनेमै पर्ने गरेको छ।

पूराना भ्रष्टाचारका अरु पनि मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छन्। ५ वर्ष नाघेका ४ हजार बढी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन्। त्यसमा १७ वर्ष पूराना भ्रष्टाचारका मुद्दा पनि फैसला हुन बाँकी छन्। पूर्वमन्त्री गोविन्द जोशीलगायतको पूराना भ्रष्टाचार मुद्दामा फैसला हुन सकेका छैनन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!