प्रसाईँलाई समर्थन गर्दै रवीन्द्र मिश्रले भने- ०४७ को संविधानमा टेकेर नवीन समझदारीमा जाओस्

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन जनाएका छन् । प्रसाईंले व्यवस्था परिवर्तनको लागि आज काठमाडौंमा हजारौं मानिस उतारेपछि नेता मिश्रले समर्थन गर्दै आन्दोलन जारी राख्न भनेका हुन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘पहिले नेताले मार्ग परिवर्तन गरे र जनता पछि लाग्न बाध्य भए । अहिले, जनताले मार्ग परिवर्तन गरेका छन् र ढिलोचाँडो नेता पछि लाग्न बाध्य हुनेछन् ।

विचार भन्दामाथि देशलाई राखेर आज निस्वार्थरूपमा सडकमा उत्रिनेहरुप्रति आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘यो जारी रहोस् पर्सि, राजाकै उपस्थितिमा बिर्तामोड, झापामा हुने कार्यक्रम पनि त्यत्तिकै सफल होस् । कुनै अनिष्ट हुनु पहिले नै शान्तिपूर्ण संक्रमण मार्फत देश २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा जाओस् ।’

राजसंस्थावादीहरूले पनि नयाँ/पुराना प्रचण्डपन्थीहरूलाई अवमूल्यन गर्न नहुने उनको भनाइ छ ।

प्रचण्डपन्थीहरूले त अब राजसंस्थावादीलाई अवमूल्यन गर्न सक्ने अवस्था नै छैन । जति छिटो नेताहरूले मार्ग परिवर्तन गर्छन्, त्यति छिटो यो देशले सही ट्र्याक समात्ने छ । उनले भनेका छन् ।

प्रसाईंले पनि आफ्नो जनप्रदर्शनलाई जारी राख्ने भनेका छन् । राप्रपाले पर्सि झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितीमा कार्यक्रम गर्दैछ ।

यद्यपी, उपाध्यक्ष मिश्र प्रसाईंको पक्षमा खुलेपनि पार्टीभित्र दुई धार छ । संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले यसअघि नै प्रसाईंको आन्दोलनको पक्षमा पार्टीले सहयोग गर्नुपर्ने बताएका थिए ।

आज राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही प्रसाईंसँग बल्खु पुगेका थिए । नेताहरु एकपछि अर्को गर्दै प्रसाईंको आन्दोलनलाई समर्थन जनाउँदै गर्दा झापामा कार्यक्रमको तयारीमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देन बोलेका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!