फोरमको बैठकबारे बालेनको स्पष्टिकरण: पैसा खाएर गरेको बैठक बहिस्कार गरेको हो, अपमान गरेको होइन

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | मंगलबार बुढानीलकण्ठको एक रिसोर्टमा आयोजित बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्।

‘उपत्यका मेयर्स फोरम’को चलिरहेको मासिक बैठक बीचमै छाडेर हिँडेका उनले बुधबार राति स्पष्टिकरण दिएका हुन्।

जारी बैठकबाट हिँडेका मेयर बालेनलाई बैठकमा सहभागीहरूले रोकिन अनुरोध गरे पनि उनी कसैको नसुनी उक्त बैठकबाट बाहिरीको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल छ। उनको उक्त कदमलाई कतिले आलोचना गरेका छन् भने कतिले प्रशंसा समेत गरेका छन्।

धेरै ठाउँमा आलोचनात्मक टिप्पणी आइरहेका बेला बालेनले भने त्यस्तो टिप्पणी दिएका हुन्।

उनले लेखेका छन्,  ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन’,  उनले भने,’ नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’

काठमाडौं उपत्यकामा रहेका १८ महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका मेयर रहने गरी मेयर्स फोरम गठन गरिएको छ।

यसको अध्यक्षमा ललितपुरका मेयर चिरिबाबु महर्जन छन् भने सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा उपाध्यक्ष, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी महासचिव, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सचिव, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन कोषाध्यक्ष र मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ सहसचिव छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!