कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त

Posted on: 14 Oct, 2023

असोज २७, काठमाडौँ | कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीको पक्षमा कांग्रेसको शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना प्रदेश सांसदले सनाखत गरेपछि खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए । 

संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!