शीर्ष नेताको आग्रहमा रिजाल ब्याक भएपछि एमाले उपत्यका प्रदेश कमिटी सर्वसम्मत

Posted on: 08 Oct, 2023

असोज २१, काठमाडौँ | नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले पार्टी शीर्ष नेतृत्वको आग्रहमा फिर्ता लिएपछि सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै रिजाललाई यसपटक सर्वसम्मत नेतृत्व चयनका लागि सहयोगी बन्न आग्रह गर्दै उनको व्यवस्थापन हुने आश्वासन दिएपछि प्रेम पराजुली निर्विरोध भएका हुन् ।


पराजुलीलाई पोलिटब्युरो सदस्य तथा पेशागत जिल्ला कमिटी इन्चार्ज सुजिता शाक्यलगायतको जोडबलमा उम्मेदवार बनाइएको थियो ।

महासचिव शंकर पोखरेलले भनेको समेत नमानेर रिजालले उम्मेदवारी कायम राखेपछि उनलाई अध्यक्ष ओलीमार्फत उम्मेदवारी फिर्ता लिन लगाइएको हो । चुनाव हुँदा रिजाल जित्ने अवस्था बनेपछि पराजुलीलाई निर्विरोध गराउन शीर्ष नेतृत्वमार्फत उम्मेदवारी फिर्ता लिन लगाइएको एमाले नेताहरूको भनाइ छ ।

कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल,उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटी संयोजक घनेन्द्रराज श्रेष्ठले बताएका छन् ।

पेशागत जिल्ला कमिटीका बाहेक अन्य सबै सदस्यसमेत निर्विरोध चयन भएका छन् । पेशागतको भने आजै बागबजारस्थित हार्दिक होटलमा चुनाव हुने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!