असोज ७, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो ।
‘इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था थिएन’ अख्तियार उच्च स्रोतले भन्यो, ‘जहिले छानबिन सुरु हुन्छ वा अनुसन्धान अघि बढ्छ । त्यसपछि कागजात सच्याउने, सुन भेटिने काम भएको छ । त्यसका आधारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो ।’
पशुपतिनाथ मन्दिरमा सर्वोच्चको आदेशविपरित सुनको जलहरी राखियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले जलहरी राख्न सरकारले सहयोग गर्ने वचन दिएपछि शुरु भएको जलहरी प्रकरण अख्तियारमा मुद्दा दायर भएपछि बाहिर आयो । तर, यो विषयका कारण एमालेले संसद नै अवरोध गर्न पुग्यो । माओवादी केन्द्रका सांसदले सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै यसमा एमाले अध्यक्ष केपी ओलीलाई जोडिदिए । जलहरी राख्दा अनियमितता भएको भन्दै ती सांसदले संसदमा आवाज उठाएपछि एमाले आक्रोशित बन्यो ।
संसदमा अवरोध र आरोप–प्रत्यारोपपछि एमालेले सरकारसँग जलहरी प्रकरणमा निर्दोषिताको माग राख्यो । सरकारले पनि एमालेमाथि लागेको आरोपलाई पन्छाउने सहमति गरेपछि संसद खुल्यो र प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले जलहरी प्रकरणमा ओली र एमालेलाई जोडिएकोमा दुख व्यक्त गर्दै यो विषय उठाउने सांसदमाथि केहि अप्रिय सुनिए । र यो प्रकरणको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउन निर्देशन समेत दिइयो ।
जलहरी प्रकरणमा कुनै अनियमितता नभएको र जोख्दा सुन जस्ताको त्यस्तै भेटिएको भन्दै एमाले अध्यक्ष केपी ओलीले भने सत्ता गठबन्धनमाथि निरन्तर प्रहार गर्न थाले । ओलीले जलहरीको विषयमा सत्ता गठबन्धनले रिसिबी साँधेकोदेखि अनेकन आक्षेप लगाए ।
संसदीय समितिमा जलहरी प्रकरणबारे स्पष्टीकरण दिन पुगेका पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको भन्दै रोए ।
यसपछि सुन जोखियो । जोख्दा सुन भेटियो । तर, अख्तियारले गरेको अनुसन्धानमा भने अनियमितता भएको पुष्टी भएको बताइन्छ । जलहरी राख्दा मुचुल्का अनुसार सुन नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष अख्तियारको छ ।
अख्तियारले अनियमितताको मुद्दा अघि बढाउने तयारी गरेपछि थापाले भने आफूमाथि अख्तियारले बार्गेनिङ गरेको र बदनियत राखेर यातना दिएको भन्दै विभिन्न समितिदेखि राष्ट्रपति कार्यालयसम्म गुहार्न पुगेका छन् । संसदीय समितिमा समेत रोएका उनले अख्तियारले बार्गेनिङ गरेको आरोप लगाउदै गर्दा उनले भरपर्दो प्रमाण केहि सार्वजनिक गर्न सकेका छैनन् । तर, अख्तियारले गरेको अनुसन्धानको निष्कर्षले गम्भीर प्रश्न उब्जाएको छ । मुचुल्कामा नभेटिएको सुन पछि पेटि बनाउने नाममा राखिएपछि प्रश्न उठ्नु स्वभाविक हो । यो विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन नभएसम्म आक्षेपको दाग मेटिने अवस्था देखिन्न ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!