‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो?’

Posted on: 07 Sep, 2023

भदौ २१, काठमाडौँ | नेपाली कांग्रे‍सका सांसद गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त आक्रमणलाई एक सन्काहाले सन्केर हान्यो भनेर सामान्यकृत गर्न नमिल्ने बताए।

उक्त आक्रमणसँग जोडिएका अन्य सबै पक्षको उजागर हुनुपर्ने उनको भनाइ थियो। ‘कांग्रेसको तर्फबाट सचेत गराउन चाहन्छु, ध्यानकार्षण गराउन चाहन्छु, घटना कसरी भयो? किन भयो? गहिरो अनुसन्धान होस् र योसँग जोडिएका अन्य सबै पक्षको उजागर होस्,’ उनले भने।

उनले उक्त आक्रमण र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई संकेत गर्दै जिउधनको सुरक्षाबारे पनि सरकारसँग प्रश्न गरे। उनले भने, ‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु। के अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नाइँ?’

प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँ ठाउँमा अपराधीलाई छाडिने छैन भन्ने अभिव्यक्ति दिँदै आएकोमा जिम्मा लिएकाले बोल्ने नभइ परिणाममा देखाउनुपर्ने भनाइ उनले राखेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!