रुपन्देही मर्चवारीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on: 16 Aug, 2023

साउन ३१, काठमाडौं | रूपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालीम कार्यक्रमहरुमा कमिशन लिएको आरोपसहित मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवन कुमार अर्याल, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष नारायण बहादुर यादव, वडा नम्बर ५ र ६ का वडा सचिव गुलाब यादव, सम्वृद्ध नेपाल ईनर्जीका प्रोपाईटर बिनोद बाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ्ग ईन्टिच्युटका प्रोपाईटर अमरिश यादवमाथि मुद्दा दायर गरिएको छ ।

गाउँपालिकामा अवैध कमिशन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको र सोही खातामा विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं रकम भ्रष्टाचार गरी कमिशनको रुपमा जम्मा गराइएको आरोप छ ।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको र अख्तियारले अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/०७८ मा वडा नम्बर ३ मा गरिएका विकास निर्माणका कामहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा नम्बर ६ मा र वडा नम्बर ७ का वडाहरूमा गरिएका विकास निर्माणका कामहरु, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाई कटाई तालिम कार्यक्रमहरु भएको जनाइएको छ ।

सोही योजना एवम कार्यक्रमहरुको वर्षको अन्यत्यमा सरकारी रकम भुक्तानी दिँदा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले पालिकासँग सरोकार राखेर आर्थिक कारोबार गरेका समूहबाट घुस लिएको पुष्टि भएको प्रवक्ता दाहालले बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारले पुष्टि गरेको छ ।

अख्तियारले अर्यालबाट घुस लिएको १३ लाख ४५ हजार रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको मागदाबी लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय मागदाबी गरेको छ ।

वडा सचिव गुलावसँग २ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । तत्कालीन वडाध्यक्ष नारायणबहादुरसँग ५ लाख बिगो कायम गरेको छ ।

प्रोपाइटर विनोद बाबु तिवारी विरुद्ध ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन विरुद्ध ३ लाख ६० हजार र प्रोपाइटर अमरिश यादव विरुद्ध २ लाख बिगो मागदाबी गरेको छ । आरोपितहरु मध्ये प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण अर्याल अवकाश पाइसकेका छन् भने तत्कालीन कार्यपालिका सदस्य राजेश हरिजनको मृत्यु भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!