श्रीमतीमाथि बलात्कार र कुटपिट गरेको आरोपमा श्रीमान् पक्राउ, जिल्ला अदालतमा मुद्दा दायर

Posted on: 08 Aug, 2023

साउन २३, काठमाडौँ | गत भदौ २२ गते मात्र विवाह बन्धनमा बाँधिएकी एक महिला श्रीमानले बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी छिन् । काठमाडौं प्रहरीले आरोपीलाई पक्राउ गरेर अदालतमा मुद्दा चलिरहेको छ ।

पीडित सरिता (नाम परिवर्तन) ले जबर्जस्ती करणी र कुटपिट/अंगभंगको कसुर गरेको भन्दै श्रीमान् कमल (नाम परिवर्तन) विरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी थिइन् । मागी विवाह गरेको यो जोडी बुढानीलकण्ठ नगरपालिका–७ मा बस्दै आएको थियो ।


सरिताका अनुसार कमलले उनको इच्छाविपरीत र महिनावारी भएका समयमा पनि शारीरिक सम्पर्क राख्ने गरेका थिए । आफूलाई श्रीमानले अप्राकृतिक मैथुनसमेत गर्न लगाएको सरिताको आरोप छ ।

आफूले भनेको नमान्दा श्रीमानले कुटपिटसमेत गर्ने गरेको र त्यही क्रममा दाँतसमेत भाँच्चिएको सरिताले जाहेरीमा उल्लेख गरेकी छिन् । उनले आफ्नो शरीरमा भएका चोटपटक र नीलडामसमेत प्रमाणका रूपमा पेश गरेकी छिन् ।

यता आरोपी कमलले सरिताले नियमित मदिरा सेवन गरेर घर आउने गरेको र सोही विषयमा भनाभन हुने गरेको बताएका छन् । आफूले भन्दा पहिले श्रीमतीले मुक्का हानेको उनको दाबी छ ।

प्रहरीसँगको बयानमा कमलले साढे २ महिनाअघि मापसे गरेर घर आएकी सरिताले आफूलाई मुक्का प्रहार गरेको बताएका छन् । प्रतिकारमा आफूले पनि मुक्का प्रहार गर्दा सरिताको दाँत भाँच्चिएको उनको भनाइ छ ।

‘मैले श्रीमतीलाई कहिल्यै जबर्जस्ती गरेको छैन । बरु मदिराले लट्ठ भएपछि उनले नै चाहेअनुसार शारीरिक सम्पर्क गर्न बाध्य हुने गरेको थिएँ,’ कमलले बयानमा उल्लेख गरेका छन् ।

घटनाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर भएको हो । गत २३ गते सरकारी वकिलबाट अभियोग पत्र दर्ता भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!