वडाध्यक्षहरूलाई हर्क साम्पाङको चेतावनी- सच्चिएर बैठकमा आऊ, नत्र राजीनामा देऊ

Posted on: 20 Apr, 2023

बैशाख ७, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका छन् ।

शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाएका छन् ।

बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन्, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

मेयर साम्पाङले समन्वय र सहमतिविना आफूखुसी काम गरेको र बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै एक महिनाभन्दा बढी समयदेखि वडाध्यक्षहरू आन्दोलित छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!