उपेन्द्र यादव ‘फिरंगी’ हुन्, बारा-२ मा यादवविरुद्ध उम्मेदवारी दिन्छौं : राउत

Posted on: 22 Mar, 2023

चैत ८, बारा | जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने बताएका छन् । जनमतले संघमा नेकपा (माओवादी केन्द्र) र मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकारलाई साथ दिएको छ ।  

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माविमा पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपनिर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामहायप्रसाद यादव उपराष्ट्रपति बनेका छन् । उक्त खाली क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा जसपा अध्यक्ष उपेन्द्र यादव छन् । सप्तरी-२ मा मंसिर ४ मा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउनु पर्छ ।’

जनमत पार्टी यहाँ नजितेसम्म परिवर्तन नहुने उनले बताए । ‘पार्टीबाट उम्मेदवारी कसैले रोक्न सक्दैन्,’ उनले भने । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै राउतले बारा आएर यादवविरुद्ध यस्तो अभिव्यक्ति दिएका हुन् ।

उपेन्द्र यादव आफैं मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई सरकारमा पठाउन नचाहेको उनको आरोप छ । उनले आफूलाई सत्ता गठबन्धनभित्र उपप्रधानमन्त्रीको अफर आइरहेको खुलासासमेत गरे । ‘मलाई उपप्रधामन्त्रीको ‘अफर’ आएको छ । तर इन्कार गरेको छु,’ उनले भने, ‘सरकार बनेको तीन महिनाको अवधिमा गठबन्धनका कुनै पार्टीका शीर्ष नेताले मधेसको बारेमा चर्चा र चिन्ता गरेका छैनन् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!