कक्षा १२ को नतिजा सार्वजनिकतिर जुट्यो बोर्ड, लेटर ग्रेडिङ निर्देशिकाअनुसार नतिजा प्रकाशन हुने

Posted on: 31 Aug, 2022

भदौ १५, काठमाडौँ | कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

बोर्डले यसअघि नै उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसकेको छ । प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ लगभग सकिएको छ । अहिले नाम, थर, ठेगाना, जन्ममितिलगायत त्रुटि सच्याउने काममा बोर्ड जुटिरहेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा ‘अबको केही दिनभित्रै परीक्षाफल प्रकाशन हुने’ बताउँछन् । ‘यही दिन प्रकाशन हुन्छ भन्न त सकिन्न, तर एक दुई दिनभित्रै नतिजा सार्वजनिक हुनेछ’, ‘अहिले प्राविधिक विषयलगायत अन्तिम चरणको काम भइरहेको छ ।’ उनले भने। 


बोर्डले यसअघि मंगलबार नै कक्षा १२ को परीक्षाफल प्रकाशन तयारी गरेको थियो । ‘प्राविधिक विषय’ नटुंगिएपछि ‘त्यसको हल चाँडै गरेर नतिजा प्रकाशन गर्ने’ बोर्डको योजना छ । नतिजा सार्वजनिक विषयलाई लिएर मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनसम्बन्धी छलफल भएको छ ।

गत १६ देखि २५ जेठसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरिएको परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी थिए ।

बोर्डले यसपटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’अनुसार नतिजा प्रकाशन हुने जनाएको छ । सो निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ भने सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ ।

तोकिएको अंकभन्दा कम ल्याएमा प्रमाणपत्रमा ‘एनजी’ अर्थात् ‘नन ग्रेडिङ’ लेखिनेछ । ‘एनजी’ लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न पाउनेछैनन् ।

त्यसो त, यसअघि पनि बोर्डले १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई ‘ग्रेडसिट’ मात्रै उपलब्ध गराउने गरेको थियो । बोर्डले कक्षा १२ मा भने ‘लेटर ग्रेडिङ निर्देशिका’ कार्यान्वयन हुने प्रस्ट पारेको छ । - राजधानीदैनिकबाट


यस बिषयमा तपाइको प्रतिक्रिया...!